कास्कीको मादी गाउँपालिकाको बजेट ६५ करोड १२ लाख,कृषि, पर्यटन र उत्पादनमुखी कार्यक्रमलाई प्राथमिकता

-


     पोखरा क्लिक     
     असार ८ गते २०८३ मा प्रकाशित


दीननाथ बराल

पोखरा, ८ असार

कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको उन्नाइसौं गाउँसभामा उपाध्यक्ष कल्पना गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्दै आउदो बर्षको लागि उक्त बजेट सार्वजनिक गर्नु भएको हो ।

प्रस्तावित बजेटमध्ये १८ करोड १४ लाख ९० हजार रुपैयाँ अर्थात् २७.८७ प्रतिशत पूँजीगततर्फ र ४६ करोड ९७ लाख ६१ हजार रुपैयाँ अर्थात् ७२.१३ प्रतिशत चालुतर्फ विनियोजन गरिएको उहाँले जनाउनु भयो । चालु खर्चको हिस्सा बढी देखिए पनि संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तथा तालिम, अनुदान, क्षमता विकासजस्ता उत्पादनमूलक कार्यक्रमहरू चालु शीर्षकमै समावेश गर्नुपर्ने व्यवस्थाका कारण यस्तो अवस्था देखिएको उपाध्यक्ष गुरुङले बताउनु भयो ।

कृषि, पर्यटन, उत्पादन वृद्धि, रोजगारी सिर्जना र सुशासनलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको उहाँको भनाई छ । गाउँपालिकाले आगामी वर्षको खर्च व्यवस्थापनका लागि संघीय र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, रोयल्टी, आन्तरिक आम्दानी, मौज्दात रकम तथा लागत सहभागिता सहित विभिन्न १२ वटा स्रोतबाट बजेट सुनिश्चित गरेको जनाएको छ । संघीय सशर्त अनुदान २८ करोड २९ लाख रुपैयाँसहित संघीय समानिकरण अनुदान, राजस्व बाँडफाँड र रोयल्टी बजेटका प्रमुख आधार बनेका छन्। गाउँपालिकाले “समृद्ध मादी” को दीर्घकालीन लक्ष्यलाई साकार पार्न आर्थिक विकास, कृषि आधुनिकीकरण र पर्यटन पूर्वाधार निर्माणलाई विशेष प्राथमिकतामा राखेको छ । यी क्षेत्रका कार्यक्रम सञ्चालनका लागि ३ करोड २९ लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रलाई रूपान्तरण गर्ने उद्देश्यसहित व्यावसायिक कृषकलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम अघि सारिएका छन्। पौरखी किसान पुरस्कार, प्लास्टिक टनेल, असिना जाली, प्लास्टिक पोखरी तथा आधुनिक कृषि उपकरण खरिदमा अनुदान उपलब्ध गराइने भएको छ । रैथाने बाली संरक्षण, बीउबिजन व्यवस्थापन तथा कोल्ड स्टोरेजमार्फत भण्डारण प्रणालीलाई समेत प्रभावकारी बनाइने नीति लिइएको मादी गाउँपालिकाका अध्यक्ष देविजंग गुरुङले बताउनु भयो । सामूहिक तथा सहकारी खेती प्रणालीलाई प्रवद्र्धन गर्न ‘एक गाउँ–एक उत्पादन’ कार्यक्रमको सम्भाव्यता अध्ययन गरिनेछ भने बाँझो जमिन र नदी किनारका क्षेत्रलाई उत्पादनशील बनाउने लक्ष्यसहित बगर खेती विस्तार गरिने भएको हो । व्यावसायिक मौरीपालनको आधुनिकीकरण, महको ब्राण्डिङ तथा मादीको पहिचान बनेको गुन्द्रुकको उत्पादन, गुणस्तर अभिवृद्धि र बजारीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ ।

पशुपालन क्षेत्रतर्फ भैंसी पकेट क्षेत्र विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ। दुग्ध संकलन केन्द्र स्थापना, दूधको मूल्य शृंखला विकास, भण्डारण तथा विविधीकरणका कार्यक्रम अघि बढाइनेछन ्। साथै पशुहरूको निःशुल्क कृत्रिम गर्भाधान, गुणस्तरीय घाँस उत्पादन, औषधि तथा खोप व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिएको उपाध्यक्ष गुरुङले जनाउनु भयो । प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाले सम्पन्न मादीलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित पर्यटन पूर्वाधार निर्माणमा विशेष जोड दिइएको छ ।

अध्यक्ष देविजंग गुरुङले सोमबार बार्षिक नीति तथा कार्यक्रम प्रस्तुतः गरेको पालिकाका सूचना अधिकारी सुबोध खनालले पोखराक्लिकलाई बताउनु भयो । पालिकाले बेरुजुमा शून्य सहनशीलताको नीति अनुरूप आर्थिक वर्ष २०८१÷८२ को लेखापरीक्षणबाट औंल्याइएको २ करोड ८५ लाख ७५ हजार रुपैयाँ बेरुजुमध्ये प्रारम्भिक प्रतिक्रियामार्फत १ करोड ५ लाख १४ हजार रुपैयाँ फछ्र्योट गरिएको छ । गण्डकी प्रदेश सरकार संगको साझेदारीमा वडा नं ७ मा छाचोक चिते भैंसे सडक स्तरोउन्नतीका लागि पालिकाले बजेट व्यवस्था गरेको मादी ७ का वडाध्यक्ष दुर्गा बहादुर गुरुङले बताउनु भयो । गाउँपालिकाले बेरुजु न्यूनीकरण तथा वित्तीय अनुशासनलाई सुदृढ बनाउने लक्ष्यका साथ बाँकी बेरुजु फछ्र्योट प्रक्रियालाई थप प्रभावकारी बनाउँदै शून्य बेरुजुतर्फ उन्मुख हुने नीति अवलम्बन गरेको छ।