
लेखनाथ, १३ जेठ,
कास्की जिल्लाको साविक लेखनाथ नगरपालिकाको पुनःस्थापनाको माग सशक्त बन्दै गएको छ। पुनःस्थापना पहल समितिको नेतृत्वमा सोमबार तालचोकस्थित साविक लेखनाथ नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २६ देखि ३३ सम्मका जनप्रतिनिधि, स्थानीय अगुवा तथा अभियन्ताहरूले लेखनाथ नगरपालिकाको पुनःस्थापनाको पक्षमा सामूहिक उद्घोष गरेका छन्।
अभियानका संयोजक एवं साविक लेखनाथ नगरपालिकाका पूर्व मेयर शालिग्राम पौडेल, सचिव मुराहरी कोइराला, दिननाथ ढकाललगायतको उपस्थितिमा आयोजित कार्यक्रममा स्थानीय तह पुनर्संरचनापछि पोखरा महानगरपालिकामा समाहित लेखनाथ क्षेत्रका नागरिकको भावना, पहिचान र विकासका आवश्यकतालाई सम्बोधन गर्न पुनः लेखनाथ नगरपालिका कायम गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो। कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पूर्णबहादुर गुरुङले महानगरको संरचनामा समाहित भएपछि लेखनाथ क्षेत्रका नागरिकले सहज रूपमा सेवा प्राप्त गर्न कठिनाइ भोग्नुपरेको, विकास निर्माणका गतिविधि अपेक्षाअनुसार अघि बढ्न नसकेको तथा जनसहभागिता कमजोर बन्दै गएको बताए।
वडा नं. २९ का अध्यक्ष श्रीप्रसाद गुरुङले स्थानीय तह पुनर्संरचनापछि आधारभूत सेवाको पहुँचमा जटिलता थपिएको उल्लेख गर्दै नागरिकलाई सुलभ, प्रभावकारी तथा पहुँचयुक्त सेवा प्रदान गर्न साविक लेखनाथ नगरपालिकाको पुनःस्थापना अपरिहार्य रहेको बताए ।त्यसैगरी वडा नं. ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले पुनःस्थापनाको औचित्य पुष्टि गर्न स्थानीय स्तरमा आवश्यक अधिकांश प्रक्रिया पूरा भइसकेको जानकारी दिँदै अब संघीय सरकारको मुख्य भूमिका रहने बताए। अभियानलाई थप प्रभावकारी बनाउन संघीय तहमा समेत समन्वय र दबाबमूलक पहल गरिने उनको भनाइ थियो।
वडा नं. ३१ का अध्यक्ष ढकनाथ कँडेलले सात तालको नगरका रूपमा परिचित लेखनाथको दिगो विकासका लागि प्रक्रिया अनुरूप अघि बढ्न सुझाव दिँदै पुनःस्थापनाको अभियानलाई निरन्तरता दिन आग्रह गरे। वडा नं. ३२ का अध्यक्ष अक्कलबहादुर कार्कीले सेतीपारि रहेको लेखनाथ क्षेत्रप्रति महानगरपालिकाबाट आर्थिक, प्रशासनिक तथा मनोवैज्ञानिक रूपमा विभेदपूर्ण व्यवहार भइरहेको अनुभूति स्थानीयवासीले गरिरहेको दाबी गरे। बैठकले नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहको संख्या तथा सिमाना हेरफेर गर्न सकिने कानुनी व्यवस्था रहेको निष्कर्ष निकाल्दै पुनःस्थापनाको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ। स्थानीय सरकार सञ्चालन ऐनको दफा ३ को उपदफा ३ अनुसार सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कार्यपालिकाबाट प्रस्ताव पारित गरी आवश्यक प्रक्रिया अगाडि बढाउन सकिने व्यवस्था रहेको उल्लेख गरिएको छ।
पुनःस्थापना पहल समितिका संयोजक शालिग्राम पौडेलले स्थानीय तह पुनर्संरचनाको उद्देश्य धेरै हदसम्म पूरा भए पनि स्थानीय जनताको भावना, ऐतिहासिक पहिचान र विकासका आवश्यकतालाई मध्यनजर गर्दै लेखनाथ नगरपालिकाको पुनःस्थापना आवश्यक भएको बताए। प्रशासनिक सहजता, विकासको सन्तुलन तथा ऐतिहासिक पहिचानको संरक्षणका लागि लेखनाथलाई पुनः छुट्टै नगरपालिका बनाइनुपर्ने उनको धारणा थियो।
समितिले पोखरा महानगरपालिकाको कार्यपालिका बैठकबाट आवश्यक प्रस्ताव पारित गरी प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ। साथै आगामी दिनमा अन्तरक्रिया, जनभेला तथा जनसरोकारका विभिन्न कार्यक्रमलाई निरन्तरता दिँदै पुनःस्थापनाको पक्षमा जनमत थप सशक्त बनाइने जनाएको छ। हालसम्म सञ्चालन गरिएका गतिविधिहरूको विवरणसमेत सम्बन्धित निकायमा पेश गरिएको समितिले जनाएको छ ।





