
पोखरा १३ कुँडहरस्थित बेसलाइन एकेडेमीकी छात्रा कृतिका लामिछाने क्षेत्रीले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ४.० जिपिए ल्याएकी छन् । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको २०८२ सालको नतिजाअनुसार उनले यो उच्चतम् सफलता हात पारेकी हुन् । विद्यालयबाट यस वर्षको परीक्षामा कुल ३२ जना विद्यार्थी सहभागी भएका थिए ।
नतिजाको विवरणअनुसार विद्यालयका ६ जना विद्यार्थीले ३.६ देखि ४.० सम्मको जिपिए (ए प्लस) ल्याउन सफल भए । त्यस्तै १५ जना विद्यार्थीले ३.२ देखि ३.५९ सम्मको जिपिए (ए) हासिल गरेका छन् । परीक्षामा सहभागी अन्य ११ जना विद्यार्थीले पनि उत्कृष्ट अंकका साथ सफलता पाएको विद्यालयले जनाएको छ ।
विद्यार्थीको कडा परिश्रम र शिक्षकहरूको निरन्तर प्रयासले यो उपलब्धि सम्भव भएको विद्यालय प्रशासनले बताएको छ । विद्यालयले सफल सबै विद्यार्थीलाई बधाई दिँदै उनीहरूको गौरवपूर्ण भविष्यको शुभकामना दिएको छ । उत्कृष्ट नतिजाका लागि सहयोग गर्ने अभिभावक र शुभचिन्तकहरू प्रति विद्यालयका संस्थापक प्रिन्सिपल षडानन्द गौतमले आभार प्रकट गरेका छन् ।




