एमालेको गढ कास्कीमा रास्वपाको वर्चस्व, कास्की–१ मा गनेस र कास्की–२ मा उत्तम फराकिलो मतान्तरसहित विजयी

-


     पोखरा क्लिक     
     फागुन २३ गते २०८२ मा प्रकाशित


पोखरा, फागुन २३,

लामो समयदेखि नेकपा एमालेको प्रभाव क्षेत्र मानिँदै आएको कास्कीमा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले बलियो उपस्थिति देखाएको छ। कास्कीका ३ वटै जिर्वाचन कास्की क्षेत्र १, २ र ३ दुवैमा रास्वपाका उम्मेदवारहरू फराकिलो मतान्तरसहित विजयी हुँदै पार्टीले वर्चस्व कायम गर्न सफल भएको हो।

कास्की क्षेत्र नम्बर–१ मा रास्वपाका उम्मेदवार खड्कराज ९गनेस० पौडेल ३९ हजार ८८३ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिलकबहादुर रानाभाटले ११ हजार २१४ मत प्राप्त गरे। नेकपा एमालेका वैनबहादुर क्षेत्री अधिकारीले १० हजार ४२९ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहे। यस क्षेत्रमा कुल ७० हजार २३६ मत खसेको थियो भने पौडेलले रानाभाटलाई करिब २८ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्। विजयी पौडेल पोखरा–१४ मझेरीपाटनका लेखक, शिक्षक तथा सामाजिक अभियन्ता हुन्। अंग्रेजी साहित्यमा स्नातक तथा पोखरा विश्वविद्यालयबाट एमबिए गरेका उनले १५ वर्षभन्दा बढी समय शिक्षण पेशामा बिताएका छन्। उनी रास्वपाका केन्द्रीय सदस्यसमेत हुन्।

यसैगरी, कास्की क्षेत्र नम्बर–२ मा पनि रास्वपाले प्रभावशाली जित निकालेको छ। रास्वपाका उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी रश्मि आचार्यले ७ हजार ४९३ मत प्राप्त गरे। यस क्षेत्रमा पौडेलले आचार्यलाई २४ हजार ४१८ मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्। कास्की–२ मा नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला ६ हजार ५०० मतसहित तेस्रो स्थानमा रहे। राप्रपाका हेमजङ गुरुङ १ हजार ६ सय ४३ मतसहित चौथो भए भने नेकपाका हेमबहादुर थापा पराजुलीले १ हजार २ सय ७६ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा कुल ५२ हजार ९ सयभन्दा बढी मत खसेको थियो।

यसपटकको परिणामले एमालेको गढ मानिँदै आएको कास्कीमा नयाँ राजनीतिक सन्देश दिएको विश्लेषण गरिएको छ। परम्परागत रूपमा एमाले बलियो मानिने यस जिल्लामा रास्वपाले दुवै क्षेत्रमा भारी मतान्तरसहित जित निकाल्दै आफ्नो प्रभाव विस्तार गरेको छ। कास्कीका निर्वाचन परिणामले जिल्लामा रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा एमाले तेस्रो शक्तिका रूपमा देखिएको छ। २०७९ मा कास्कीका ३ वटै निर्वाचन क्षेत्रका एमालेका उम्मेदवारहरु विजयी हुनु भएको थियो ।