
दीननाथ बराल,
पोखरा, २२ फागुन,
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा देशको राजनीतिक चित्रमा अप्रत्याशित परिवर्तन देखिन थालेको छ । नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर उल्लेखनीय प्रदर्शन गर्दै ठूला दललाई दबाबमा पारेको छ। शुक्रबार साँझ ८ बजेसम्मको मतपरिणाम अनुसार रास्वपाले ३ स्थानमा जित हासिल गरेको छ भने देशभर ११० स्थानमा अग्रता कायम गरेको छ।
हालसम्म नेपाली काँग्रेसले २ स्थानमा जित हासिल गरेको छ भने १२ स्थानमा अग्रता कायम गरेको छ। नेकपा (एमाले) १० स्थानमा अग्रता कायम गर्दा नेकपाले ७ स्थानमा अग्रता बनाएको छ। यसमध्ये नेकपाले १ स्थानमा विजय हासिल गरेको छ।राजधानी काठमाडौँका विभिन्न निर्वाचन क्षेत्रमा पनि रास्वपाले प्रभावशाली उपस्थिति देखाएको छ। काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने १५ हजार ४५५ मत प्राप्त गर्दै विजयी हुनुभएको छ। उहाँले नेपाली काँग्रेसका उम्मेदवार प्रवल थापा क्षेत्रीलाई ९ हजार ९१ मतान्तरले पराजित गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामन खड्काले जानकारी दिनुभयो। थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गर्नुभएको छ भने नेकपा ९एमाले० का उम्मेदवार मोहनराज रेग्मीले १ हजार ६१८ मत प्राप्त गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्रले ३ हजार ९७२ मत प्राप्त गर्दा नेकपाकी उम्मेदवार मेनुका भण्डारीले ३४५ मत प्राप्त गर्नुभएको छ।
काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा पनि रास्वपाका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ। शुक्रबार सार्वजनिक अन्तिम मतपरिणाम अनुसार ४३ हजार ८६३ मत गणना हुँदा खनालले २७ हजार ७१९ मत प्राप्त गर्नुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार सबुज बनियाँले ६ हजार ६४७ मत प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का उम्मेदवार अमन मास्केले ४ हजार ३७३ मत प्राप्त गर्नुभएको छ। यस्तै काठमाडौँ क्षेत्र नम्बर ८ मा पनि रास्वपाका उम्मेदवार विराजभक्त श्रेष्ठ भारी मतान्तरले विजयी हुनुभएको छ। उहाँले २४ हजार ५९२ मत प्राप्त गर्नुभएको छ। उक्त क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गर्नुभएको छ भने नेपाली काँग्रेसकी उम्मेदवार सपना राज भण्डारीले २ हजार ८३५ मत ल्याउनुभएको छ। नेकपा ९एमाले० का उम्मेदवार राजेश शाक्य र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवीन शाहीले समान १ हजार ९०९ मत प्राप्त गर्नुभएको छ। उज्यालो नेपाल पार्टीका उम्मेदवार राजन खड्गीले १ हजार ३३ मत प्राप्त गर्नुभएको छ।
यसैबीच रुकुम पूर्वबाट भने नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १० हजार २४० मतसहित विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उम्मेदवार लीलामणि गौतमलाई ६ हजारभन्दा बढी मतान्तरले पराजित गर्नुभएको हो। देशभर मतगणना जारी रहँदा नयाँ दल रास्वपाको उभारले परम्परागत ठूला दल नेपाली काँग्रेस, एमाले लगायतका दललाई आफ्नो राजनीतिक साख जोगाउन चुनौती थपिएको विश्लेषण हुन थालेको छ। प्रारम्भिक परिणामहरूले नै धेरै स्थानमा स्थापित दलका शीर्ष नेता र पार्टीका प्रभावशाली उम्मेदवारहरू नै पराजित हुने संकेत देखिएको छ।



