
दीननाथ बराल,
पोखरा, २८ भदौ,
कल्प मिडिया एण्ड मल्टिपर्पोज प्रालिको आयोजनामा आगामी असोज २ र ३ गते पोखरामा हुने गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता–२०८३’ बाट बचत भएको रकम भोटेकोशी बाढी प्रभावितको राहत कोषमा सहयोग गरिने भएको छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा आयोजक कल्प मिडियाका अध्यक्ष सुरज श्रेष्ठले पत्रकारबीच आपसी सम्बन्ध विस्तारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिँदै प्रतियोगिताबाट बचत हुने रकम बाढी प्रभावितका लागि सहयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार प्रतियोगिताको प्रारम्भिक उद्देश्य क्रियाशील पत्रकारको हित र खेलकुदमार्फत पत्रकार बीचको सम्बन्ध विस्तार गर्नु रहे पनि देशमा पछिल्लो समय आएको विपद्को अवस्थालाई मध्यनजर गर्दै प्रतियोगिताबाट प्राप्त बचत रकम राहतका लागि प्रयोग गर्ने निर्णय गरिएको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको श्रेष्ठले बताउनु भयो । प्रतियोगिता प्रदेशस्तरीय भए पनि खेलकुद पत्रकारबीचको सम्बन्ध थप विस्तार गर्ने र प्रतियोगिताको दायरा फराकिलो बनाउने उद्देश्यले खुला सहभागिताको अवधारणा अघि सारिएको अध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।
प्रतियोगितामा सूचना विभागको परिचयपत्र भएका तथा नेपाल पत्रकार महासंघ वा नेपाल खेलकुद पत्रकार मञ्चमा आबद्ध जुनसुकै जिल्लाका पत्रकार खेलाडीले सहभागिता जनाउन पाउने व्यवस्था गरिएको छ । पत्रकारितामा सक्रिय भए पनि परिचयपत्र नभएका खेलाडीले भने सम्बन्धित नेपाल पत्रकार महासंघको जिल्ला शाखा वा नेपाल खेलकुद पत्रकार मञ्चबाट सिफारिस ल्याउनुपर्नेछ । गण्डकी प्रदेशबाहिरका जिल्लाबाट समेत पत्रकार खेलाडीले प्रतियोगितामा सहभागी हुन इच्छा देखाएपछि उनीहरूलाई गण्डकी प्रदेशभित्रका जिल्लाबाट प्रतिनिधित्व गराउँदै प्रतियोगितामा सहभागी गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा कास्कीबाहेक अन्य जिल्लाबाट सहभागी हुने टोलीलाई आयोजकले दुई छाक खाना र एक रातको बसोबासको व्यवस्था गर्नेछ । यातायात खर्च भने सम्बन्धित टोली वा खेलाडीले नै व्यहोर्नुपर्नेछ । जिल्लाबाट आउने टोलीलाई आर्थिक भार कम होस् भन्ने उद्देश्यले यातायात तथा तयारी खर्चका लागि सहयोग र सहजीकरण गर्न प्रदेश खेलकुद परिषद् गण्डकीमार्फत सम्बन्धित खेल संघहरूसँग पत्राचारसमेत गरिएको आयोजकले जनाएको छ।
प्रतियोगितामा सहभागी हुने खेलाडीको खेल अवधिभर बीमा गरिनेछ । बीमा प्रक्रिया पूरा गर्न आवश्यक खेलाडीको विवरण यथाशीघ्र उपलब्ध गराउन आयोजकले सम्बन्धित टोलीलाई आग्रह गरेको छ । खेलका क्रममा वा खेलपछि कुनै टोलीले खेलाडीको सहभागिताका विषयमा आपत्ति वा विवाद गरेमा त्यसको जिम्मेवारी सम्बन्धित जिल्ला शाखा वा नेपाल खेलकुद पत्रकार मञ्चको हुने आयोजकले स्पष्ट पारेको छ । श्रेष्ठका अनुसार पछिल्लो समयको विषम परिस्थितिका कारण हालसम्म नेपाल पत्रकार महासंघ बागलुङ र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका दुई टोली दर्ता भइसकेका छन् भने अन्य जिल्लाका टोली पनि दर्ताको प्रक्रियामा छन्।
प्रतियोगिताको टिम दर्ता शुल्क ३ हजार रुपैयाँ तोकिएको छ । विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ। उपविजेता टोलीले नगद ३० हजार रुपैयाँसहित शिल्ड, प्रमाणपत्र र मेडल पाउने पत्रकार दिपक श्रेष्ठले बताउनु भयो । व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई नगद १ हजार ५ सय रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको प्रायोजकका रूपमा पोखरा महानगरपालिका वडा नम्बर १२ र कफी डी हिमालयज रहेका छन्। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष एमबी आस्था तथा जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष मिलन गुरुङले प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने बताउनु भयो ।




