
पोखरा,
तीजका गीत महिलाका भावना, पीडा, सामाजिक अवस्था र अधिकारका विषय अभिव्यक्त गर्ने सशक्त माध्यमका रूपमा विकास हुँदै आएका छन्। पछिल्लो समय तीजगीत मनोरञ्जनमा मात्र सीमित नरही महिला सशक्तीकरण, उद्यमशीलता, आर्थिक आत्मनिर्भरता र सामाजिक रूपान्तरणका विषय उठाउने माध्यमसमेत बन्न थालेका छन्।
यही सन्देशलाई आत्मसात् गर्दै पोखरा–३१ स्थित बेगनासताल वराह क्षेत्रमा आयोजित प्रथम तीजगीत प्रतियोगितामा उज्ज्वल आमा समूह प्रथम भएको छ। पोखरा पार्टी मिडियाको आयोजना तथा बेगनासताल वराह क्षेत्र विकास संस्थाको समन्वयमा आयोजित प्रतियोगितामा विभिन्न महिला समूहले तीजगीतमार्फत सामाजिक, सांस्कृतिक तथा समसामयिक विषयलाई प्रस्तुत गरेका थिए। प्रतियोगितामा सिर्जनशील आमा समूह, स्याङ्खुदी पोखरा–२८ द्वितीय, सक्रिय आमा समूह, पोखरा–३१ तृतीय भएका छन्। त्यस्तै दिदीबहिनी महिला समूह, पोखरा–३० र लगनशील आमा समूह सान्त्वना भएका छन्। प्रथम हुने समूहले रु २५ हजार, द्वितीयले रु १५ हजार, तृतीयले रु १० हजार तथा सान्त्वना हुने दुई समूहले रु पाँच–पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगिताको उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुलीले परेवा उडाएर गर्नुभएको थियो। उद्घाटन समारोहमा अध्यक्ष पराजुलीले धार्मिक तथा पर्यटकीय महत्व बोकेको बेगनासताल वराह क्षेत्रमा तीजगीत प्रतियोगिताको आयोजनाले संस्कृति र पर्यटनलाई एकैसाथ जोड्ने अवसर प्रदान गरेको बताउनुभयो। उहाँले तीजगीत महिलाका भावना, पीडा, माइतीघरका समस्या तथा सामाजिक अवस्थालाई अभिव्यक्त गर्ने माध्यमका रूपमा विकास भएको उल्लेख गर्दै पछिल्लो समय महिला सशक्तीकरण, उद्यमशीलता र आर्थिक समृद्धिका विषयसमेत गीतमार्फत उठ्न थालेको बताउनुभयो।

महिलालाई चुलोचौकामा मात्र सीमित नराखी समाज परिवर्तन र विकासको संवाहकका रूपमा अघि बढाउनुपर्नेमा जोड दिँदै पराजुलीले महिला उद्यमशीलता, आर्थिक आत्मनिर्भरता र सशक्तीकरणका लागि राज्य, निजी क्षेत्र तथा समुदाय सबैको सहयोग आवश्यक रहेको बताउनुभयो।पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले तीज नेपाली महिलाको महत्वपूर्ण सांस्कृतिक पर्व भएकाले यसको मौलिकता, सांस्कृतिक पहिचान र सामाजिक सन्देशलाई संरक्षण गर्दै अघि बढ्नुपर्ने बताउनुभयो। त्यस्तै पोखरा महानगरपालिका–३१ का वडा अध्यक्ष ढकनाथ कँडेलले बेगनासताल वराह क्षेत्रमा आयोजित तीजगीत प्रतियोगिताले धार्मिक तथा सांस्कृतिक गतिविधिलाई प्रवर्द्धन गर्नुका साथै क्षेत्रको पर्यटन विकासमा समेत योगदान पुर्याउने बताउनुभयो।

कार्यक्रममा कलाकार रामजी पौडेल, बेगनासताल वराह क्षेत्र विकास संस्थाका अध्यक्ष सुरेन्द्र सापकोटा ‘भाट’, अञ्जना कँडेल तथा लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य प्रतीक्षा रानाभाट लगायतले बेगनास वराह क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप स्थापित गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। प्रतियोगिताले तीजको सांस्कृतिक मौलिकता संरक्षणसँगै महिलाको सिर्जनशीलता, प्रतिभा र सामाजिक चेतनालाई अभिव्यक्त गर्ने अवसर प्रदान गरेको आयोजक पोखरा पार्टी मिडियाका प्रबन्ध निर्देशक सिद्धान्त शाहीले बताउनुभयो। उहाँका अनुसार प्रतियोगितामार्फत महिला सहभागिता र सशक्तीकरणको सन्देश प्रवाह गर्नुका साथै बेगनास क्षेत्रको धार्मिक तथा पर्यटकीय सम्भावनालाई समेत उजागर गर्ने उद्देश्य राखिएको थियो।




