
धादिङ,
नागढुंगा–मुग्लिङ सडकखण्डअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभिरमा गएको पहिरोका कारण लामो समयदेखि अवरुद्ध सडक खुलाउने काम तीव्र गतिमा अघि बढेको छ। नयाँ ट्र्याक निर्माण गरी सडक सञ्चालनमा ल्याउने तयारीसँगै अब सके ३ दिन, अन्यथा बढीमा ४ दिनभित्र कृष्णभिरको सडक खुल्ने सम्भावना देखिएको छ।
गत भदौ १४ गते बिहान कृष्णभिरमा ठूलो पहिरो गएपछि उक्त सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। पहिरोका कारण काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख सडकमार्ग नै ठप्प भएपछि राजधानीमा आउने–जाने यातायातमा समेत ठूलो असर परेको छ। सडक विभागका इन्जिनियरहरूले पहिरो गएको स्थानभन्दा केही माथिबाट भिर काटेर करिब २५० मिटर लामो नयाँ ट्र्याक खोलिसकेका छन्। हाल उक्त ट्र्याकलाई सडक सञ्चालनयोग्य बनाउने काम धमाधम भइरहेको छ।
बेनीघाट रोराङ गाउँपालिका–७ का वडाध्यक्ष कुमार बस्नेतका अनुसार नयाँ ट्र्याकमा रोलर लगाउने, अस्थायी नाला निर्माण गर्ने तथा सडकलाई यातायात सञ्चालनयोग्य बनाउने काम तीव्र गतिमा भइरहेको छ। वडाध्यक्ष बस्नेतले ढिलोमा भदौ ३१ गते र सम्भव भए भदौ ३० गते मंगलबार बिहानदेखि नै कृष्णभिरको सडक खुलाउने गरी काम भइरहेको पोखराक्लिकलाई जानकारी दिनुभयो। “अहिले काम तीव्र गतिमा भइरहेको छ। सके ३ दिनभित्रै, नभए ४ दिनमा सडक खुलाउने गरी तयारी भइरहेको छ,” वडाध्यक्ष बस्नेतले पोखराक्लिकसँग भन्नुभयो। उहाँका अनुसार कामलाई तीव्रता दिन दैनिक आवश्यकताअनुसार ७ देखि ११ वटासम्म स्काभेटर तथा डोजर परिचालन भइरहेका छन्। नयाँ ट्र्याक खोल्न मुख्यतः भिरतर्फको भाग कटान गरिएको छ।
नयाँ ट्र्याक हाल एक लेनको मात्र रहेको भए पनि त्यसलाई थप चौडा बनाएर दुई लेनको बनाउने कामसमेत भइरहेको छ।
सुरुमा ग्राभेल गरेर सडकले सवारीसाधनको भार धान्न सक्छ कि सक्दैन भन्ने परीक्षण गरिने त्यस पश्चात पिड गर्ने बिषयमा छलफल भएको वडाध्यक्ष बस्नेतले जनाउनुभयो । कृष्णभिरको पहिरो व्यवस्थापनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले स्थलगत अध्ययन गरी सडक विभागलाई प्रतिवेदनसमेत बुझाइसकेको छ। नरेशमान शाक्यको नेतृत्वमा गरिएको अध्ययनका आधारमा विभागले अहिले सडक खुलाउने काम अघि बढाएको हो।
अध्ययन टोलीले भिर काटिसकेपछि तत्कालै त्यस क्षेत्रमा संरक्षणका संरचना निर्माण गर्न, सडकमा पानीको उचित निकासका लागि कुलेसो बनाउन तथा आवश्यक स्थानमा सिट पायललगायतका संरचना तयार गर्न सुझाव दिएको छ। यसैबीच, कृष्णभिरको सडक खुल्ने तयारीसँगै लामो समयदेखि वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका यात्रु तथा व्यवसायीमा समेत आशा पलाएको छ। सडक सञ्चालनमा आएपछि काठमाडौं–चितवन, धादिङ, गोरखा, तनहुँ, लमजुङ, पोखरालगायतका क्षेत्रतर्फको आवागमन सहज हुने अपेक्षा गरिएको छ।



