१ करोड ३३ लाख आम्दानी भएको २५ औं आहा रारा पोखरा गोल्ड कपबाट ३ लाख २१ हजार बचत

-


     पोखरा क्लिक     
     भाद्र २६ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,
पोखरा २६, भदौं,

गत बर्ष सहारा क्लब पोखराले आयोजना गरेको २५ औं आहा रारा पोखरा गोल्ड कप फुटवल प्रतियोगिताबाट आम्दानीको २.४२ प्रतिशत अर्थात ३ लाख २१ हजार बचत गर्न सफल भएको छ । गत वर्ष माघ २७ गतेदेखि फागुन ९ गतेसम्म ११ दिन सञ्चालन भएको प्रतियोगिताबाट उक्त रकम बचत भएको क्लबले आज (शुक्रबार) पोखरामा आयोजित आय–व्यय सार्वजनिक तथा धन्यवाद ज्ञापन कार्यक्रममा जानकारी गराएको हो ।

प्रतियोगिताबाट १ करोड ३३ लाख २३ हजार ४ सय ८५ रुपैयाँ आम्दानी भएको छ भने ११ दिन संचालन भएको प्रतियोगिता सम्पन्न गर्न १ करोड ३० लाख १ हजार ६ सय ४६ रुपैयाँ खर्च भएको क्लबका कोषाध्यक्ष एवं अर्थ संकलन उपसमितिका सह–संयोजक लिलबहादुर थापा मगरले बताउनुभयो । बचत रकम पोखरा–१७, दोबिल्लास्थित सूर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमी सञ्चालनमा उपयोग गर्ने उहाँले जनाउनु भयो । गेट टिकटबाट मात्रै ८ लाख ३३ हजार ५ सय रुपैयाँ आम्दानी भएको क्लबले जनाएको छ । प्रतियोगितालाई सफल पार्न मुख्य प्रायोजक हिमश्री फुड्स प्रा.लि.बाट ३० लाख १८ हजार ७ सय ५०, प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाबाट जनही १०÷१० लाख, सहारा हङकङबाट ५ लाख सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।

यसपटक प्रतियोगितामा दर्शकको उपस्थिति अपेक्षाकृत कम भएकाले बचत रकम न्यून भएको क्लबका अध्यक्ष केशवबहादुर थापाले बताउनुभयो । उहाँले प्रतियोगिताबाट भएको बचत भन्दा पनि सहारा क्लबले सञ्चालन गर्दै आएको सुर्यबहादुर केसी स्मृति सहारा आवासीय फुटबल एकेडेमीलाई निरन्तरता दिनु ठूलो चुनौती बन्दै गएको उल्लेख गर्नुभयो । अध्यक्ष थापाका अनुसार सहारा एकेडेमी सञ्चालनका लागि वार्षिक करिब ५० लाख रुपैयाँ बजेट आवश्यक पर्छ। कठिन परिस्थिति तथा विपन्न परिवारका बालकहरूलाई आवास, शिक्षा, स्वास्थ्य र फुटबल प्रशिक्षण प्रदान गर्दै आएको एकेडेमी सञ्चालनमा क्लबलाई आर्थिक चुनौती रहेको उहाँले बताउनुभयो । एकेडेमीमा हाल १६ जिल्लाका ३० जना बालवकहरु रहेको बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङले बताउनु भयो । बचत रकम उक्त एकेडेमी सञ्चालनमा उपयोग गरिने भएको उहाँले जनाउनु भयो । प्रतियोगिताको आम्दानीमा प्रायोजन, टिकट बिक्री, ब्यानर सहयोग, विभिन्न वडा कार्यालय तथा पालिका र संघसंस्थाबाट प्राप्त सहयोग, ब्याज आम्दानी लगायत समावेश छन् । प्रतियोगिताको संरक्षकमा पोखरा महानगरपालिका रहेको थियो ।

कार्यक्रममा पोखरा महानगरपालिका–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सहारा क्लबले लामो समयदेखि सहारा एकेडेमी र आहा रारा पोखरा गोल्ड कप सञ्चालन गर्दै पोखराको पहिचान निर्माणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । उहाँले क्लबको अभियानलाई निरन्तरता दिन सबै क्षेत्रबाट साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो । मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी निर्देशक प्रकाश केसीले देशको विषम परिस्थितिका कारण फुटबलका दर्शक कम भए पनि खेलकुद विकासका लागि सहारा क्लबले प्रतियोगितालाई निरन्तरता दिनु प्रशंसनीय कार्य भएको बताउनुभयो । उहाँले खेलकुद क्षेत्रको विकासमा क्लबले पु¥याउँदै आएको योगदानलाई ध्यानमा राखेर आफूहरूले निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्नुभयो । २५औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप गत माघ २७ गतेदेखि फागुन ९ गतेसम्म सञ्चालन भएको थियो । प्रतियोगितामा ४ विदेशी सहित १२ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि आयोजक सहारा क्लवले जितेको थियो । विजेता क्लवले १४ लाख पुरस्कार प्राप्त गरेको थियो ।