रसुवा बाढीपीडितका लागि नमस्ते कम्युनिटी फाउन्डेसनको २० लाख सहयोग

-


     पोखरा क्लिक     
     भाद्र २५ गते २०८३ मा प्रकाशित


पोखरा,

रसुवामा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि नमस्ते कम्युनिटी फाउन्डेसन–नेपालले हालसम्म २० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । आज मात्रै फाउन्डेसनले थप ८ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको नमस्ते कम्युनिटी फाउन्डेसन–नेपालका संस्थापक विष्मराज पौडेलले बताउनु भयो । फाउन्डेसनको यो तेस्रो चरणको सहयोग हो। योसँगै रसुवा बाढीपीडितका लागि फाउन्डेसनको कुल योगदान २० लाख रुपैयाँ पुगेको उहाँले जनाउनु भयो ।

यस मानवीय अभियानलाई सफल बनाउन फाउन्डेसनको निकट साझेदार नमस्ते फाउन्डेसन–नेदरल्यान्ड्सको महत्वपूर्ण सहयोग र सहकार्य रहेको छ। फाउन्डेसनले नेपाल सरकारको ‘एकद्वार प्रणाली’ तथा स्थानीय प्रशासनसँगको समन्वयमा राहतलाई वास्तविक आवश्यकतामा रहेका बाढीपीडितसम्म पुर्‍याउने तयारी गरिरहेको छ। प्रभावित नागरिकहरूको आवश्यकता पहिचान गरी आवश्यक राहत सामग्रीसमेत प्रत्यक्ष रूपमा स्थलमै पुर्‍याउने गरी फाउन्डेसनले काम अघि बढाइसकेको संस्थापक पौडेलले बताउनु भयो ।

रसुवाका बाढीपीडित परिवारले भोगिरहेको पीडा र कठिन परिस्थितिमा यो सानो सहयोगले भए पनि दैनिक जीवनका आधारभूत आवश्यकता पूरा गर्न र केही राहत तथा आशा प्रदान गर्न सकियोस् भन्ने आफुहरुको उद्देश्य रहेको उहाँले जनाउनु भयो । यस मानवीय अभियानमा साथ दिनुहुने साझेदार संस्थाहरू, दाताहरू, स्वयंसेवकहरू, सहयोगी हातहरू तथा नेपालप्रति माया र सद्भाव राख्ने सम्पूर्ण नेपाली तथा विदेशी मित्रहरूप्रति संस्थापक पौडेलले आभार व्यक्त गर्नु भएको छ ।