एसईईका विद्यार्थीलाई वडा नं. २६ को डिजिटल प्रविधिको तालिम

-


     पोखरा क्लिक     
     वैशाख ११ गते २०८३ मा प्रकाशित


लेखनाथ÷बैशाख १०,

पोखरा महानगरपालिका वडा नंं २६ ले एसईई दिएर बसेका विद्यार्थीका लागि डिजिटल प्रविधिमा आधारित विभिन्न तालिमहरु बुधबार देखि शुरु गरेको छ । सहभागी विद्यार्थीले रोवटिक्स एण्ड प्रोग्रामिड, भिडियो एण्ड कन्टेन क्रियसन, ग्राफिक्स डिजाईन र व्यक्तित्व विकास सम्वन्धी तालिम प्राप्त गर्नेछन् ।

तालिमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नंं २६ का वडा अध्यक्ष नरेन्द्र थापाले एसईई परिक्षा पछिको समयमा विद्याथीहरुका लागि जटिल हुने भएकाले तालिमले मार्ग निर्देश गर्ने उल्लेख गर्नु भयो । परिक्षा पछिको फुर्सदको समयमा कुलत र गलत कार्यमा विद्यार्थीहरुको ध्यान जानसक्ने संभावना हुने उल्लेख गर्दै अध्यक्ष थापाले तालिमले त्यसलाई रोक्दै सिर्जनशिल बन्न सिकाउने बताउनु भयो । उहाँले अहिलेको समय सुचना र प्रविधिमा आधारित भएकाले त्यसको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । डिजिटल प्लेटफर्मले प्रयोेग गर्न जाने सिर्जनशिल बन्न सहयोग पुर्याउने नत्र गलत क्रियाकलापमा उद्धत हुन मद्दत गर्ने बताउनु भयो । अध्यक्ष थापाले विद्यार्थीहरुलाई नैतिक र सस्कार शिक्षाका लागि चालु आ.ब. मा रकम विनियोजन भएकाले चाडैनै कार्यक्रम शुरु गर्ने बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य सुजता बराल सुनारले वडा नं. २६ ले विद्यार्थीहरुको क्षमता विकासका लागि बार्षिक कार्यक्रममा समेटेर बजेट विनियोजन गरेको उल्लेख गर्नु भयो । आकार समूहका सदस्य इन्जिनियर सन्दिप पौडेलले तालिमका बिषयहरु विज्ञान र प्रविधिमा आधारित भएकाले यसपछाडीको शिक्षाका लागि समेत सहयोगी हुने उल्लेख गर्नु भयो । तालिममा पोखराकका विभिन्न विद्यालयबाट एसईई दिएर बसेका एक सय ३० जना बालबालिका सहभागी रहेका छन् ।