होटल पौवाले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाउने तयारी

-


     पोखरा क्लिक     
     चैत्र २४ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखरामा होटल पौवा प्रा.लि.ले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सवलाई विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ। यस अवसरमा कम्पनीले देशभर रहेका आफ्ना सबै शाखामा एकसाथ ‘पौवा स्वाद उत्सव २०८२’ आयोजना गर्ने घोषणा गरेको हो ।

चैत २४ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत कम्पनीले चैत २६ देखि २८ गतेसम्म देशभरका २० शाखामा एकैपटक उत्सव सञ्चालन गरिने जानकारी दिएको हो। “वितायौँ बालापन” नारासहित आयोजना गरिने यस उत्सवको उद्देश्य नेपाली रैथाने परिकार, मौलिक आतिथ्य सेवा तथा सांस्कृतिक अनुभवको प्रवर्द्धन गर्नु रहेको छ। कम्पनीका अध्यक्ष तुलसीराम ज्ञवालीका अनुसार, होटल पौवाले आजभन्दा १० वर्षअघि चैत २५ गते नेपाली हस्पिटालिटीको अवधारणासहित सेवा सुरु गरेको थियो। छोटो अवधिमै कम्पनीले देशका प्रमुख पर्यटकीय गन्तव्यहरूमा आफ्नो उपस्थिति विस्तार गर्दै २० शाखा सञ्चालनमा ल्याउन सफल भएको उनले बताए। आगामी दिनमा पनि थप पर्यटकीय क्षेत्रहरूमा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ।

महाप्रबन्धक केशव भण्डारीले उत्सव अवधिभर सबै शाखामा विशेष आतिथ्यसहित मौलिक नेपाली स्वाद प्रस्तुत गरिने जानकारी दिए। उनका अनुसार देशभर करिब ४० हजार निमन्त्रणापत्र वितरण गरिएको छ, जसले कार्यक्रमप्रति व्यापक चासो देखाएको छ। रुपन्देहीको सालझण्डीबाट सानो संरचनामा सुरु भएको कम्पनी अहिले भैरहवा हुँदै देशका विभिन्न सहरहरूमा फैलिएको छ। वार्षिकोत्सवकै अवसरमा चैत २८ गते भैरहवा शाखामा ‘वितायौँ बालापन’ अवधारणामा लगानी सम्मेलन समेत आयोजना गरिनेछ, जहाँ कम्पनीको भावी रणनीति र विस्तार योजनाबारे छलफल हुने जनाइएको छ। यसैबीच, नयाँ वर्ष २०८३ को स्वागतका लागि चैत ३० गते साँझ सबै शाखामा ‘शुभकामना साँझ २०८३’ शीर्षकमा सांगीतिक कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ। कम्पनीका लेखापाल सुवास ज्ञवालीका अनुसार, होटल पौवाले विभिन्न जातजातिका चाडपर्वमा विशेष कार्यक्रम आयोजना गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ।

वार्षिकोत्सव अन्तर्गत चैत २५ गते ‘पौवा दिवस’ समेत मनाइनेछ भने त्यसको पूर्वसन्ध्यामा चैत २४ गते पोखरामा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनेछ। उक्त कार्यक्रममा कम्पनीका उपलब्धि, भावी योजना तथा नेपाली आतिथ्य क्षेत्रको विकासबारे विस्तृत छलफल गरिने जनाइएको छ। हाल कम्पनीका शाखाहरू रुपन्देही, कपिलवस्तु, दाङ, पाल्पा, गुल्मी, धनगढी, जुम्ला, पोखरा र काठमाडौं लगायत विभिन्न स्थानमा सञ्चालनमा रहेका छन्। कम्पनीले नेपाली मौलिक आतिथ्यलाई ब्रान्डका रूपमा स्थापित गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।