पोखराका पूर्व मेयर तथा एमाले नेता कृष्ण थापाको अन्त्येष्टि, आईतबार पाेखरामा बिदा

-


     पोखरा क्लिक     
     फागुन ३० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,

पोखरा ३०, फागुन,

पोखरा महानगरपालिकाका पूर्व मेयर तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णबहादुर थापाको आज (शनिबार) सम्मानका साथ अन्त्येष्टि गरिएको छ । बिहीबार हृदयाघातका कारण निधन हुनु भएको थापाको पार्थिव शरीरलाई पोखरा–१६ स्थित निवास बाटुलेचौरबाट शवयात्रासहित लामाचौर हुँदै सेती नदी किनार गोस्तेघाटमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको पारिवारीक श्रोतले जनाएको छ ।

अन्त्येष्टिका क्रममा थापाका छोरा प्रतीक थापा र भाइ मोहन थापाका छोराहरूले दागबत्ती दिनु भएको हो । अन्त्येष्टि अघि थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि नेकपा एमाले कास्कीको पार्टी कार्यालय, पोखरा महानगरपालिकाको कार्यालय तथा बाटुलेचौरस्थित निवासमा राखिएको थियो । एमाले कास्कीको पार्टी कार्यालयमा बिहान ७ः३० बजेदेखि १० बजेसम्म श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा एमाले उपाध्यक्ष पृथ्वी सुब्बा गुरुङ, सचिव खगराज अधिकारी लगायत नेता–कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो । सो अवसरमा पार्टी उपाध्यक्ष गुरुङले थापाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नु भएको एमाले कास्कीका सचिव दर्शन लामाले बताउनु भयो ।

त्यसपछि पार्थिव शरीर पोखरा महानगरपालिकाको कार्यालयमा लगिएको थियो। त्यहाँ महानगर मेयर धनराज आचार्यले राष्ट्रिय झण्डा ओढाएर पूर्वमेयर थापाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसपछि पृथ्वीचोक, न्यूरोड, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक, नदीपुर र बगर हुँदै शवयात्रा निकालेर पार्थिव शरीर बाटुलेचौरस्थित निवास पु¥याइएको थियो। निवासमा पनि केही समय श्रद्धाञ्जलीका लागि राखेपछि शवयात्रासहित गोस्तेघाट लगेर अन्त्येष्टि गरिएको थियो। ६६ वर्षीय थापाको बिहीबार कास्की क्षेत्र नम्बर–१ को निर्वाचन समीक्षा बैठकमा बोल्दै गरेका बेला अचानक हृदयाघात भएको थियो। बैठकमा मन्तव्य राखेर बस्ने क्रममा अचानक ढलेपछि उहाँलाई तत्काल उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल लगिएको थियो। तर चिकित्सकले दिउँसो करिब ३ः४० बजे मृत घोषणा गर्नु भएको हो l

थापा २०५४ देखि २०५९ सालसम्म तत्कालीन पोखरा उपमहानगरपालिकाको मेयर हुनु भएको थियो । उनले पोखराको सडक विस्तार, शहरी पूर्वाधार विकास र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्नु भएको थियो । जापानको कोमागाने सहरसँग पोखराको भगिनी सम्बन्ध स्थापना गर्ने पहल पनि उहाँकै पहलमा सुरु भएको थियो। सोही सम्बन्धअन्तर्गत पोखरा–६ लेकसाइडमा कोमागाने पार्क र पोखरा–१६ बाटुलेचौरमा कोमागाने अस्पताल निर्माण गरिएको थियो। थापा गण्डकी प्रदेश सभाका पूर्व सदस्य समेत हुनु भएको थियो । उननिधनप्रति शोक व्यक्त गर्दै पोखरा महानगरपालिकाले चैत १ गते(आइतबार) महानगरका सबै कार्यालय तथा मातहतका शैक्षिक संस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साथै तीन दिन महानगरका कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरिएको छ । थापाका श्रीमती डिकी छिरिङ थापा र छोरा प्रतीक थापा रहनु भएको छ ।