
दीननाथ बराल,
पोखरा, २६ पुस
पोखरामा आजदेखि ११ औँ राष्ट्रिय ज्ञानमाला सम्मेलन–२०८१ सुरु भएको छ । सम्मेलनमा ८५ वटा भजन मण्डलीका करिब १ हजार ५ सय प्रतिनिधि सहभागी भएको राष्ट्रिय ज्ञानमाला सङ्घका कोषाध्यक्ष राजभाइ शाक्यले बताउनु भयो । सम्मेलनमा भारतको सिक्किमबाट समेत भजन टोली सहभागी भएको आयोजकले जनाएको छ ।
भगवान् गौतम बुद्धका उपदेश र धर्मदेशनालाई संगीतबद्ध भजनमार्फत समाजमा प्रवाह गर्ने उद्देश्य सहित सम्मेलन सुरु भएको उहाँले जनाउनु भयो । हाल देशभर १४५ वटा ज्ञानमाला भजन मण्डली (खलः) रहेका छन् । सम्मेलनको उद्घाटन नेपाल भिक्षु महासङ्घका केन्द्रीय अध्यक्ष भन्ते सोभित महास्थविरले गर्नुभयो । उहाँले हरेक व्यक्तिको खुशीका लागि मनोरञ्जन आवश्यक रहेको उल्लेख गर्दै ज्ञानमाला भजनले व्यक्तिमा ऊर्जा र सकारात्मक सोच पैदा गर्ने बताउनुभयो । भगवान् बुद्धले देखाएको मार्गमा मानव जाति हिँड्न नसक्दा नै दुःख बढेको उहाँको भनाइ थियो । राष्ट्रिय ज्ञानमाला सङ्घका अध्यक्ष रमना श्रेष्ठको अध्यक्षतामा उद्घाटन सत्र सम्पन्न भएको हो । सम्मेलनले पोखरा घोषणापत्र समेत जारी गर्ने भएको छ ।
सम्मेलनअघि धर्मशीला बुद्ध विहारबाट शान्ति ¥याली निकालिएको थियो । ¥याली पालिखेचोक, महेन्द्रपुल, चिप्लेढुंगा र न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर सभामा परिणत भएको थियो । ¥यालीमा विभिन्न ज्ञानमाला भजन मण्डलीको सहभागिता रहेको थियो । यसैबिच, पोखरा ३ नदीपुरमा रहेको धर्मशीला बुद्ध विहारका प्रमुख भिक्षु धजवन्तोले पुनर्निर्माण कार्यको करिब ४० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । करिब ६ करोड रुपैयाँको परियोजना अघि बढिरहेको विहारका सदस्य रविन कायस्थले पोखराक्लिकलाई बताउनु भयो ।
यही पुस २८ गतेसम्म सञ्चालन हुने ११ औँ राष्ट्रिय ज्ञानमाला सम्मेलनले बुद्धका सन्देशलाई भजनमार्फत समाजमा फैलाउँदै धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक चेतनामा थप योगदान गर्ने अपेक्षा गरिएको छ । कोषाध्यक्ष शाक्यले भन्नुभयो“ज्ञानमाला भन्नाले बुद्धका शिक्षालाई कविता र गीतको माध्यमबाट प्रस्तुत गरिने भजनलाई जनाउँछ, जसको शाब्दिक अर्थ ‘ज्ञानको माला’ हो । ” नेपालमा बौद्ध धर्मको पुनर्जागरणपछि भिक्षुहरूले बुद्धका सन्देश जनमानससम्म छिटो पु¥याउन कविता र गीत रचना गर्न थालेका थिए । ती रचनालाई लय हालेर गाउन थालिएपछि ज्ञानमाला भजनको परम्परा स्थापित भएको हो । ज्ञानमालाका संस्थापक तथा परिकल्पनाकारका रूपमा भिक्षु धम्मालोक र भिक्षु अमृतानन्दलाई लिने गरिन्छ ।
राष्ट्रिय ज्ञानमाला सम्मेलनको पहिलो संस्करण वि.सं. २०५० सालमा स्वयम्भू ज्ञानमाला भजन खलःले आयोजना गरेको थियो । त्यसयता पाल्पा, भक्तपुर, धरान, ललितपुर, बुटवल, कीर्तिपुर, पनौती, चाबहिल र बनेपा हुँदै अहिले पोखरामा ११ औँ सम्मेलन आयोजना गरिएको हो । पोेखरामा वि.सं. २०२२ सालमा धर्मशीला बुद्ध विहारमा धर्मशीला अनागारिकाको निर्देशनमा ज्ञानमाला सङ्घ स्थापना गरिएको थियो । ख्यातिप्राप्त सङ्गीतकार तथा गायक प्रज्ञारत्न बज्राचार्य संस्थापक अध्यक्ष रहेका थिए । सोम बज्राचार्य र सुवर्ण बज्राचार्यलगायतले ज्ञानमाला भजनलाई नयाँ आयाम दिँदै लोकप्रिय बनाएका छन् ।




