
जया पौडेल,
पोखरा २६, पुस,
कर्णाली सम्पर्क एवं विकास समाज पोखराको नयाँ नेतृत्व चयन गरेको छ । समाजको पोखरास्थित फिष्टेल ड्रिम पार्कमा शनिबार सम्पन्न चौथो अधिवेशनले जसबहादुर बुढाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा राज्यलक्ष्मी न्यौपाने, महासचिवमा चन्द्रप्रसाद पाण्डे, सचिवमा सुरेन्द्र खत्री, कोषाध्यक्षमा नवराज उपाध्याय र सह–कोषाध्यक्षमा गंगाप्रसाद न्यौपाने चयन हुनु भएको छ भने यसैगरी सदस्यहरूमा राजेन्द्र लामा, वीरेन्द्र आचार्य, मेघा सन्ज्याल, रणबहादुर (सिद्धान्त) शाही र पुष्पराज उपाध्याय चयन हुनुभएको हो । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१७ का वडाध्यक्ष राधिका शाही योगीले अथाह पर्यटकीय सम्भावना बोकेको कर्णाली प्रदेशको विकासका लागि सबैले साझा प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले कर्णाली र पोखराको पर्यटनलाई जोड्ने गरी प्रदेश र स्थानीय सरकारले पर्यटन विकास कार्यक्रमहरूमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
सुरुआतमा पाँच जना मिलेर स्थापना गरिएको संस्थामा हाल दुई सयभन्दा बढी सदस्य आबद्ध हुनु सुखद् विषय भएको उल्लेख गर्दै वडाध्यक्ष शाहीले कर्णाली पर्यटनको धनी प्रदेश भएको बताउनुभयो । “रारा ताल, जुम्लाको गिडिदह, भैरबनाथ र चन्दननाथ, डोल्पाको से–फोक्सोन्डो ताल, रुकुमको कमल दह, दैलेखको श्रीस्थान, कालिकोटको पाण्डवशिला, जुम्लाको सिंजा सभ्यता जस्ता ऐतिहासिक र पर्यटकीय स्थलको प्रवर्द्धनमा संस्थाले सक्रिय भूमिका खेल्नुपर्छ,” उहाँले भन्नुभयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले कर्णाली प्रदेशको जुम्लाबाट खस नेपाली भाषाको उत्पत्ति भएको उल्लेख गर्दै नेपाली भाषा र खस सभ्यताको संरक्षण तथा प्रचार–प्रसारमा सञ्चारकर्मीहरू सक्रिय हुनुपर्ने बताउनुभयो । नेपाली भाषा जोगाउन पत्रकार महासंघले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।
संस्थापक अध्यक्ष शम्भुनाथ योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक सल्लाहकार एवं महिला उद्यमी रामकली खड्कालाई सम्मान गरिएको छ । कार्यक्रमको स्वागत मन्तव्य नवनिर्वाचित अध्यक्ष जसबहादुर बुढाले गर्नुभएको थियो भने सञ्चालन कार्यसमिति सदस्य खगेन्द्र खत्री सुरेन्द्रले गर्नुभएको थियो । कर्णाली सम्पर्क एवं विकास समाज पोखराले कर्णाली प्रदेशको सांस्कृतिक, सामाजिक र पर्यटन पहिचानलाई राष्ट्रियस्तरमा उजागर गर्दै कर्णाली र गण्डकीबीच सम्बन्ध सुदृढ गर्न आगामी दिनमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।




