
दीननाथ बराल,
पोखरा, २५ पुस,
पोखरामा विगत ५ बर्ष देखि नियमित रुपमा संचालन हुदै आएको नयाँ पर्यटकीय गन्तव्य अन्नपूर्ण केवलकारको यात्रा थप सुरक्षित बनाउन आज (शुक्रबार) आपतकालीन उद्धार (रेस्क्यु) अभ्यास गरिएको छ । पोखरा मालेपाटनमा रहेको सशस्त्र प्रहरी बल, (नेपाल नं. २४ गण हेडक्वाटर) कालिका गण र अन्नपूर्ण केवलकार प्रा.लि.को संयुक्त आयोजनामा शुक्रबार पोखरा १८ स्थित सिमताल क्षेत्रमा आपतकालीन उद्धार (रेस्क्यु) अभ्यास गरिएको हो ।
पछिल्लो समय केवलकारजस्ता आधुनिक यातायातका साधनको प्रयोग बढ्दै गएको सन्दर्भमा त्यससँग सम्बन्धित आकस्मिक दुर्घटनाको प्रभावकारी व्यवस्थापनका लागि अभ्यास गर्न आवश्यक भएको कालिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सूर्यप्रसाद तिमिल्सिनाले पोखराक्लिकलाई बताउनु भयो । नेपाल भौगोलिक रूपमा संवेदनशील मुलुक भएकाले भूकम्प, पहिरो, बाढी, आगलागी तथा प्रविधिसँग सम्बन्धित सम्भावित दुर्घटनाको जोखिम सधैं उच्च रहने हुँदा केवलकारमा पनि हुने जोखिमलाई न्यूनिकरण गर्न पनि उक्त अभ्यास तालिम आवश्यक हुने उहाँको भनाई थियो ।
प्राकृतिक वा यान्त्रिक खराबीका कारण जुनसुकै समयमा केवलकार बीच बाटोमै रोकिन सक्ने जोखिम हुन सक्ने एसपी तिमिल्सिनाको भनाई थियो । यस्तो अवस्थामा अड्किएका यात्रुलाई तीन घण्टाभित्र सुरक्षित अवतरण गराउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड रहेको उल्लेख गर्दै एसपी तिमिल्सिनाले अन्नपूर्ण केवलकार राष्ट्रका विशिष्ट व्यक्ति र विदेशी पर्यटकको समेत आगमन हुने महत्वपूर्ण पर्यटकीय पूर्वाधार भएकाले यसको आपतकालीन प्रतिकार्य नेपाल राष्ट्रको सुरक्षा छविसँग समेत जोडिएको बताउनुभयो। यस्तो अभ्यासले उद्धारमा संलग्न सुरक्षाकर्मीको सीप, कला र कौशल विकास गर्नुका साथै विभिन्न निकाय बीच समन्वय र सहकार्यलाई अझ प्रभावकारी बनाउने उहाँले विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपालले २०७२ सालको भूकम्पदेखि पहाडी नदीमा गोताखोरद्वारा खोज तथा उद्धार, रोप रेस्क्यु, मेडिकल फस्ट रिस्पोन्डर लगायत विपद् व्यवस्थापनका विविध क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।
विपद् जोखिम न्यूनीकरणको अर्को महत्वपूर्ण पाटो जनचेतना भएको उल्लेख गर्दै सशस्त्र प्रहरीले २०७० सालदेखि समुदायमा आधारित विपद् जोखिम न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम अभियानकै रूपमा सञ्चालन गर्दै आएको जनाएको छ । नागरिकको सेवा र सुरक्षालाई प्राथमिकतामा राख्दै सरोकारवाला सबै निकायसँग समन्वय गरी जोखिम तथा क्षति न्यूनीकरणमा कालिका गण कास्की सधैं तत्पर रहेको सशस्त्र प्रहरीको भनाइ छ । यसैबिच, पोखरा महानगरपालिका प्रमुख धनराज आचायले पोखरामा सहासिक खेलकुदका गतिविधि सहित अन्नपूर्ण केवलकारको यात्रा सुरक्षित गर्न आवश्यक पर्ने सम्पूर्ण विकल्पहरु परिचालन गरी सुरक्षित र भरपर्दा बनाउन आग्रह गर्नुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सशस्त्र प्रहरी बलले खोज तथा उद्धार क्षेत्रमा पु¥याएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाहले सहभागिहरुमा धन्यवाद ज्ञापन गर्नुभएको थियो।
कार्यक्रममा विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सरकारी कार्यालय, पर्यटन व्यवसायी, उद्योग वाणिज्य संघ, संघसंस्था तथा सञ्चारकर्मीको उल्लेखनिय सहभागिता रहेको थियो । अन्नपूर्ण केवलकारका जनरल म्यानेजर दिनेश पौडेलले हालसम्म केवलकारमा कुनै समस्या नआएको स्पष्ट पार्दै सम्भावित भवितव्यलाई मध्यनजर गरी वैकल्पिक उपायको रूपमा रेस्क्यु तयारी गरिएको बताउनुभयो। “रेस्क्यु प्रणाली पनि सुरक्षाको एक हिस्सा हो, त्यसैले केवलकार यात्रा शतप्रतिशत सुरक्षित छ,” उहाँले दाबी गर्नुभयो। उत्तः केवलकारमा १७ वटा गोन्डुला रहेका र एउटामा ८ जनासम्म बसेर यात्रा गर्न सकिने बताइएको छ । साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरुले बिहानको सूर्योदय र सूर्यास्तको अवलोकन गर्न सकिने भएको छ । केबलकारमा यात्रा गर्दा हिमाल, ताल, र पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने पौडेलले जनाउनु भयो ।




