
पोखरा, २२ पुस
२२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ अन्तर्गत स्पेशल अवार्डबाट सम्मानित तेक्वान्दोकर्मी तुलसी कुमार गुरुङले आफूले प्राप्त गरेको पुरस्कार रकम पोखराका दुई क्लबलाई सहयोग स्वरूप हस्तान्तरण गर्नु भएको छ । हङकङलाई कर्मथलो बनाउँदै आउनु भएको तथा नेपालका एकमात्र तेक्वान्दो नवौँ डान प्राप्त खेलाडी गुरुङले अवार्डबाट प्राप्त नगद एक लाख रुपैयाँ बिहीबार पोखरामा आयोजित एक कार्यक्रमका बीच हस्तान्तरण गर्नु भएको हो ।

उहाँले २५औँ आहा रारा पोखरा गोल्ड कप आयोजनाका लागि सहारा क्लबलाई ५० हजार रुपैयाँ तथा राष्ट्रिय फुटबल लिगमा पहिलो पटक सहभागिता जनाउन सफल एलजी एशोसिएसन क्लबलाई ५० हजार रुपैयाँ सहयोग प्रदान गर्नु भयो । सहारा क्लबका अध्यक्ष केशवबहादुर थापा र एलजी एशोसिएसनका अध्यक्ष डम्बरजंग गुरुङले रकम ग्रहण गर्नु भयो ।

रकम हस्तान्तरण गर्दै समाजसेवी गुरुङले पोखराको फुटबल विकासमा दुवै क्लबको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नु भयो । “सहारा र एलजी दुवै क्लब गण्डकीको शान हुन् । यहाँहरूले पोखराको फुटबल जोगाउन खेलेको भूमिका प्रशंसनीय छ,” उहाँले भन्नु भयो, “अब अन्तर्राष्ट्रिय स्तरमै चिनिने गरी फुटबल क्षेत्रमा अघि बढ्नुस् । पोखरालाई फुटबलमार्फत विश्वमा चिनाउन सकियोस् भन्ने मेरो शुभकामना छ ।” कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापा र एलजी एशोसिएसनका अध्यक्ष गुरुङले सहयोगप्रति आभार व्यक्त गर्नु भयो ।
सो अवसरमा सहारा क्लबका सल्लाहकार सुनिल गुरुङ, पूर्व अध्यक्ष विक्रम थकाली, गण्डकी प्रदेश फुटबल संघका महासचिव विनोद गुरुङ, सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ, एलजी एशोसिएसनका प्रमुख प्रशिक्षक किरण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । उक्त अवार्ड बुधबार एक समारोहका बिच नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख बिजनेस अफिसर युवराजकुमार विस्ट ले प्रदान गर्नु भएको थियो । अवार्ड सहित उहाँले १ लाख पुरस्कार समेत प्राप्त गर्नु भएको थियो । तष्विर शुर्दशन रञ्जित




