
दीननाथ बराल
पोखरा,
पारा तेक्वान्दोकी पलेसा गोवर्धन एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ मा ट्रेजब्लेजर अफ दि इयरको अवार्डबाट सम्मानित हुनु भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले बुधबार पोखरा सभागृहमा साँझ आयोजना गरेको स्पोट्र्स अवार्डको २२ औँ संस्करण कार्यक्रममा पोखरा महानगरपलिकाका मेयर धनराज आचार्यले पलेसालाई अवार्ड प्रदान गर्नुभयो ।

पेरिस पारा ओलम्पिकमा काश्य पदक जितेर इतिहास बनाएपछि पलेसालाई नेपाली खेलकुदकी पथप्रदर्शकको सम्मान दिइएको हो । पलेसा ओलम्पिक पदक जित्ने नेपालकी पहिलो खेलाडी हुनुहुन्छ ।
गत वर्ष पलेसा एनएसजेएफ पारा एथ्लेट अवार्डबाट सम्मानित हुनु भएको थियो ।

करातेकी एरिका गुरुङ र क्रिकेटर दिपेन्द्रसंह ऐरी एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ को वर्ष खेलाडी घोषित हुनु भयो । यस अवार्डका लागि क्रिकेटकै कुशल भुर्तेल, उसुका विजय सिन्जाली, खोखोका जनक चन्द, टेबलटेनिसका श्यान्टु श्रेष्ठ पनि मनोनयनमा पर्नु भएको थियो । गोल्छा समूहका निर्देशक अभिमन्यु गोल्छाले ऐरीलाई अवार्ड प्रदान गर्नुभयो ।

गत वर्ष दिपेन्द्रले एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा छ छक्का प्रहार गर्दै इतिहास बनाउनु भएको थियो । यस्तो कीर्तिमान बनाउने टी २० अन्तर्राष्ट्रियकै तेस्रो खेलाडी हुनुहुन्छ । वर्ष २०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल हुनुभयो । अमेरिकामा सम्पन्न टी २० विश्वकपमा ६ विकेट लिँदै उहाँले नेपालका लागि सर्वाधिक विकेट लिने बलर हुनु भयो । गत वर्ष चार अन्तर्राष्ट्रिय स्वर्ण पदक जित्ने एरिकाले लगातार दोस्रो पटक वर्षको सर्वश्रेष्ठ महिला खेलाडीको अवार्ड जित्न सफल हुनु भयो । उहाँले खोखोकी मानमती धामी, कराँतेकी एलिसा रास्कोटी मगर, भलिबलकी सलिना श्रेष्ठ र फुटबलकी रेखा पौडेललाई पछाडि पार्नुभयो । एरिकाले २०८० को पनि वर्ष महिला खेलाडी घोषित हुनु भएको थियो । कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र पोखरा महानगरपालिकाकी उपमेयर मन्जुदेवी गुरुङले एरिकालाई अवार्ड प्रदान गर्नुभयो । गत वर्ष एरिकाले भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण तथा अस्ट्रेलियन ओपन २०२४ र सिंगापुरमा सम्पन्न १६ औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण पदक जित्नु भएको थियो । यसगरी एीरकाले चीनमा भएको २०औंँ सिनियर कराते च्याम्पियनसिप र दुबईमा भएको विश्व कराते वन युथ लिगमा रजत पदक जित्न गौरव पनि हािसल गर्नुभयो ।

भलिबलका हिमाल सुनारीले पिपुल्स च्वाइसको अवार्ड जित्नुभयो । ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा हिमाल विजेता हुनुभयो । हिमालले सर्वाधिक ४०.१० प्रतिशत मत प्राप्त गर्नुभयो । यस अवार्डको मनोनयनमा फुटबलर रेखा पौडेल, क्रिकेटकी पूजा महतो, टेबलटेनिसकी इभाना थापा मगर र उसुका विजय सिन्जाली पनि प्रतिस्पर्धामा हुनुहुन्थ्यो । खल्ती बाइ आएइमइका सिइओ प्रवीण रेग्मी र नासा सेक्युरिटिजका ग्रोथ चिफ अनिल श्रेष्ठले हिमाललाई पिपल्स च्वाइस अवार्ड प्रदान गर्नुभयो । पारा तेक्वान्दोका कविराज नेगी लामाले वर्षका उत्कृष्ट प्रशिक्षक अवार्ड हासिल गर्नुभयो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपक लामा र नेपाल पर्यटन बोर्डका अफिसएटिङ निर्देशक सुनील शर्माले प्रशिक्षक नेगीलाई अवार्डले सम्मानित गर्नुभयो ।

युवा वर्ष खेलाडी अवार्ड महिला क्रिकेटर पुजा महतो घोषित हुनुभयो । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ र केल्मी नेपालका निर्देशक उत्तम न्यौपानेले पुजालाई अवार्ड प्रदान गर्नुभयो । पूजा उत्कृष्ट भएको यस विधामा अजय बिक (एथ्लेटिक्स), अञ्जली महर्जन (कराते), स्वस्तिका तिरुवा (बक्सिङ) र समीर तामाङ (फुटबल) पनि मनोनयनमा पर्नुभएको थियो ।

एनएसजेएफ पारा एथ्लिट अवार्डबाट प्रभा आङदम्बे सम्मानित हुनुभयो । प्रभा पारा एथलेटिक्स खेलाडी हुनुहुन्छ । नेपाली खेलकुद क्षेत्रमा प्रवेश गरेको एक वर्ष पनि पूरा नभएकी प्रभाले नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटक्समा ऐतिहासिक रजत पदक जित्न सफल हुनुभयो । टी ४७ क्याटेगोरीमा प्रभाले लङजम्पमा ३.९६ मिटर उचाई नाघेर ऐतिहासिक रजत पदक जित्नुभयो भने जुन पारा एथलेटिक्समा नेपालले जितेको अहिलेसम्मको ठूलो पदक हो ।

एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सबैभन्दा प्रतिष्ठित र सम्मानित विधा लाइभ टाइफ एचिभमेन्ट अवार्डबाट एथलेटिक्सका खड्गबहादुर रानाभाट सम्मानित हुनुभयो । पोखरालाई आफ्नो कर्मथलो बनाउँदै आएका उनी नेपाली खेलकुदको पहिलो पुस्ताका खेलाडी र प्रशिक्षक हुनुहुन्छ । आप्mनो जीवनको आठौँ दशकतर्फ अग्रसर रानाभाट कर्तिमान धावक जितबहादुर केसीका समकालीन हुनुहुन्छ् । खेलाडी जीवनपछि उनी प्रशिक्षणमा उत्तिकै ब्यस्त रहनुभयो ।

नामी विदेशी विश्वविद्यालयबाट प्रशिक्षणको अवसर पाएका उहाँले सिक्ने सिकाउने क्रममा ७७ जिल्ला पुग्नु भएको छ । सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठ मानन्धरको म्याराथनमा किर्तिमान बनाउँदा रानाभाट नेपाली टिमका प्रशिक्षक हुनुहुन्थ्यो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारी, महासचिव अन्जन खड्का, मञ्च गण्डकीका अध्यक्ष याम्बी आस्थाले रानाभाटलाई अवार्ड प्रदान गर्नुभयो ।

स्पेसल अवार्डबाट तेक्वान्दोकर्मी तुलसी कुमार गुरुङ सम्मानित हुनुभयो । पोखरेली गुरुङले गतवर्ष दक्षिण कोरियाको कुक्किवोनबाट नवौँ डान ब्ल्याक बेल्ट प्राप्त गर्नुभएको थियो । तेक्वान्दोमा यस्तो उपल्लो डानको मान पाउने उनी पहिलो नेपाली हुनुहुन्छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ र यती एयरलाइन्सका प्रमुख बिजनेस अफिसर युवराजकुमार विस्टले रानाभाटलाई अवार्ड प्रदान गर्नुभयो ।

भारतका नयाँ दिल्लीमा भएको पहिलो खोखो विश्वकपमा उपविजेता बनेर ऐतिहासिक रजतक पदक दिलाउने खोखो पुरुष र महिला टिमलाईटिम अफ दि इयरको अवार्ड प्रदान गरियो । टिम गेम’ मा नेपाल विश्वकप खेलेर उपविजेता बनेको खो खो पहिलो खेल हो ।

यसैगरी बङगलादेशका खेल पत्रकार राना हसनले एसियन स्पोटर्् जर्नलिस्ट अवार्ड प्राप्त गर्नुभयो । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले हसनलाई अवार्ड प्रदान गर्नुभयो ।

वर्ष खेलाडी पुरुष÷महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा गरी पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्राप्त गर्दा अन्य विधाका विजेतालाई जनही एक लाख रुपियाँ प्रदान गरिएको थियो ।

२२ औँ संस्करण पोखरा महानगरपालिका प्रवर्धकको भूमिकामा रहेको छ । यसैगरी अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै रह्यो । यसैगरी पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको थियो । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका थिए ।




