
दीननाथ बराल,
पोखरा, २२ पुस,
खेलकुदको शहर पोखरामा आज (मंगलबारं) आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर प्रर्दशनी गरिएको छ । विश्वकप ट्रफी पोखराका विभिन्न प्रमुख स्थानमा परिक्रमा गरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले बताउनु भयो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल देखि पोखरा रंगशाला, पोखराको फेवाताल, सराङकोटको मेथ्लाङ डाँडा लगायतको क्षेत्रमा ट्रफी सार्वजनिक गरिएको उहाँले पोखराक्लिकलाई बताउनु भयो । टी–ट्वान्टी विश्वकप ट्रफी टुरमा क्रिकेटप्रेमीले ट्रफीसँग तस्बिर समेत खिच्नु भएको थियो । उक्त ट्रफीलाई भने छुन दिएको थिएन । ट्रफी टुर कार्यक्रम आज पोखराको एअरपोर्ट क्षेत्रबाट सुरु भई त्यसपछि ट्रफीलाई पोखराका मुख्य चोक तथा पर्यटकीय क्षेत्र हुँदै सार्वजनिक स्थालमा प्रदर्शनका गरिएको हो । पोखराको फेवातालमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा रंगशालामा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उक्त ट्रफी अवलोकन गर्नु भएको थियो ।

उक्त ट्रफी अवलोकन गर्र्दै मुख्यमन्त्री पाण्डेले नेपालमा पछिल्लो समयमा क्रिकेटको क्रेज बढेको बताउदै यसमा संघिय सरकार र प्रदेश सरकारले पनि क्रिकेट खेलको विकासको लागि आवश्यक पूर्वाधार निर्माणमा बिषेश चासो दिएको जनाउनु भयो । उक्त ट्रफी नेपालमा र पोखरासम्म ल्याउदै प्रदर्शन गर्नु यसले क्रिकेट खेलको महत्व झनै बढाएको उहाँले बताउनु भयो ।
आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुरका क्रममा सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको थियो । ट्रफी टुरका क्रममा सर्वसाधारण, खेलप्रेमी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहेको थियो । विश्व क्रिकेटको प्रतिष्ठित ट्रफी पोखरामा ल्याइनु आफैंमा गौरवको विषय भएको उल्लेख गर्दै मन्त्री थापाले यसले गण्डकी प्रदेशमा क्रिकेटप्रति उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेशको क्रिकेटको विकासको लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने वचन दिनुभयो ।




