
लमजुङ,
विभागीय टोली एपीएफ क्लबले ३३औँ त्रिवेणी कप फुटबल प्रतियोगिताको उपाधि रक्षा गर्न सफल भएको छ । बेसिसहरस्थित त्रिवेणी रंगशालामा सोमबार सम्पन्न फाइनल खेलमा नाल्माको लाङ्दीदेवी एफसीलाई २–० ले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।
उपाधिसँगै एपीएफले १२ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता लाङ्दीदेवी एफसीले ६ लाख रुपैयाँमा चित्त बुझाएको छ । खेलमा एपीएफका लागि युवराज खड्का र प्रदीप लामाले गोल गरे । खेलको ७७औँ मिनेटमा युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । त्यसको छ मिनेटपछि प्रदीप लामाले अर्को गोल थप्दै एपीएफको जित सुनिश्चित गरे ।
गत संस्करणमा एपीएफले वीवाईसी भोटेओडारलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै उपाधि जितेको थियो । यसपटक भने निर्धारित समयमै खेल आफ्नो पक्षमा पार्दै एपीएफले सहज जित निकालेको हो । करिब सात वर्षपछि एपीएफमा फर्किएका मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा टोलीले उपाधि चुमाउन सफल भएको हो ।प्रतियोगितामा नाल्माको लाङ्दीदेवी एफसी ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई २–० ले पराजित गर्दै फाइनलमा पुगेको थियो । एपीएफले भने सेमिफाइनलमा लमजुङ मर्स्याङ्दी एफसीलाई टाइब्रेकरमा ४–३ ले हराउँदै उपाधि यात्रा तय गरेको थियो । फाइनल खेलका ‘म्यान अफ दि म्याच’ एपीएफका युवराज खड्का घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।
व्यक्तिगत विधातर्फ पनि एपीएफ क्लबले दबदबा जमायो । सर्वाधिक गोलकर्ता प्रदीप लामा र समीर थोकर घोषित भए । दुवैले प्रतियोगितामा समान ३–३ गोल गरे । उत्कृष्ट गोलकिपर एञ्ज श्रेष्ठ घोषित भए भने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सन्तोष खत्री चुनिए । सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे ।




