पोखरामा मंगलबार आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर हुदै

-


     पोखरा क्लिक     
     पौष २१ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २१ पुस,

खेलकुदको शहर पोखरामा भोलि (मंगलारं) आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुर हुने भएको छ । विश्वकप ट्रफी पोखराका विभिन्न प्रमुख स्थानमा परिक्रमा गरिने कार्यक्रम तय गरिएको गण्डकी प्रादेशिक क्रिकेट संघका अध्यक्ष संजयकान्त सिग्देलले पोखराक्लिकलाई जानकारी दिनुभयो ।

मंगलबार बिहान ८ः३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा ट्रफी सार्वजनिक गरिने भएको उहाँले जनाउनु भयो । त्यसपछि बिहान ९ः३० देखि १०ः३० बजेसम्म पोखराका विभिन्न चोक हुँदै ट्रफी टुर सञ्चालन हुनेछ । सो अवधिमा लेकसाइड, महेन्द्रपुल, चिप्लेढुंगा, पृथ्वीचोक लगायतका स्थानमा क्रिकेटप्रेमीले ट्रफीसँग तस्बिर खिच्ने अवसर पाउनेछन् ।

ट्रफी टुर कार्यक्रम पोखराका मुख्य चोक तथा पर्यटकीय क्षेत्र हुँदै सार्वजनिक प्रदर्शनका लागि लैजाने भएको अध्यक्ष सिग्देले जनाउनु भयो । बिहान ११ बजेदेखि १२ बजेसम्म पोखराको एक होटलमा ट्रफी प्रदर्शन तथा विशेष कार्यक्रम आयोजना गरिनेछ । त्यसपछि दिउँसो २ बजे ट्रफी पोखराबाट काठमाडौँतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

आईसीसी टी–ट्वान्टी विश्वकप ट्रफी टुरका क्रममा सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको संघले जनाएको छ । ट्रफी टुरका क्रममा सर्वसाधारण, खेलप्रेमी तथा सञ्चारकर्मीको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको अध्यक्ष सिग्देलले बताउनुभयो । विश्व क्रिकेटको प्रतिष्ठित ट्रफी पोखरामा ल्याइनु आफैंमा गौरवको विषय भएको उल्लेख गर्दै अध्यक्ष सिग्देलले यसले गण्डकी प्रदेशमा क्रिकेटप्रति उत्साह थप्ने विश्वास व्यक्त गर्नुभयो । पोखरामा खेलकुद प्रति क्रेज बढाउन पनि यस्ता कार्यक्रमले थप टेवा पुग्ने उहाँले जनाउनु भयो ।