पोखरामा ईभीप्रति आकर्षण बढ्दो, एकै दिन ३३ वटा विद्युतीय गाडी बुकिङ (भिडियो सहित)

-


     पोखरा क्लिक     
     पौष २१ गते २०८२ मा प्रकाशित


नेपालमा पछिल्लो समय विद्युतीय सवारी (ईभी) प्रतिको आकर्षण बढ्दै गएको छ । यद्यपी यसको प्रविधि, सुरक्षा र दीर्घकालीन उपयोगिताबारे आम नागरिकमा अझै विभिन्न भ्रमहरू विद्यमान छन्। यिनै भ्रमहरू चिर्दै ईभीको वास्तविक अवस्था, भविष्यको सम्भावना र व्यावसायिक पक्षबारे जानकारी दिन पोखरामा विशेष ईभी कार्यशाला सम्पन्न भएको छ।

भिजी मोटर्स अन्तर्गत एसआरएम र जोयलङ को आयोजनामा सम्पन्न कार्यशालामा विद्युतीय सवारीको लागत, मर्मत–सम्भार, ब्याट्रीको आयु, सुरक्षा तथा वातावरणीय प्रभावबारे विज्ञहरूसँग छलफल गरिएको थियो। कार्यशालामा प्रस्तुत तथ्यअनुसार विद्युतीय सवारी आधुनिक आविष्कार जस्तो देखिए पनि यसको इतिहास पेट्रोल गाडीभन्दा पुरानो छ। सन् १८३० को दशकमा नै विद्युतीय सवारीको अवधारणा विकसित भइसकेको थियो भने पेट्रोल इन्जिन त्यसपछि मात्र प्रयोगमा आएको हो। प्रविधिको तीव्र विकाससँगै अहिले ईभी पुनः विश्व बजारको प्राथमिक रोजाइ बन्न थालेको विज्ञहरूको भनाइ छ। हालै सार्वजनिक भएका केही दुर्घटनाका घटनाले ईभीप्रति डर उत्पन्न भए पनि विज्ञहरूले त्यसलाई अतिरञ्जित नठान्न आग्रह गरेका छन्। उनीहरूका अनुसार सवारी दुर्घटनाको मुख्य कारण इन्जिनको प्रकार नभई मानवीय त्रुटि, सडक अवस्था र सवारी सञ्चालन विधि हो। कार्यशालामा चन्दन रौनियार, दिनेश दाहाल, सम्राट गौतम, दीपक शर्मा र नजाम राइन लगायतका विज्ञहरूले ईभीका मेकानिकल तथा इलेक्ट्रिकल इन्जिनियरिङ पक्षबारे प्रस्तुति गरेका थिए ।

भिजी मोटर्स गण्डकीका प्रकाश अर्याल ले ईभीको लागत प्रभावकारिताबारे जानकारी दिँदै भने “पोखराबाट १७ जना यात्रु लिएर काठमाडौं जाँदा करिब ६ सय रुपैयाँ मात्र खर्च हुन्छ। यो पेट्रोल वा डिजेल सवारीको तुलनामा अत्यन्त सस्तो र व्यवसायीका लागि लाभदायक विकल्प हो।” इभिको प्रयोगले वातावरण प्रदुषणलाई समेत रोक्न मद्धत पुृग्ने उनले बताए । उक्त अवसरमा ३३ वटा इभि गाडी बुकिङ भएको कम्पनीले जनाएको छ । ३४ लाख देखि ७४ लाख मुल्यका २ सिटर देखि १७ सिटरका गाडीहरु बिक्रिको लागि बजारमा ल्याएको अर्यालले जनाए ।

सो कार्यक्रममा पृथ्वी राजमार्ग बस संचालन कम्पनीका अध्यक्ष तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वरिष्ठ उपाध्यक्ष एन कुमार शाही, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ का सचीव भानुभक्त बराल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश सयोजक केदार पौडेल लगायतको उपस्थिति रहेको थियो । यातायात व्यावसायी मेघराज त्रिपाठी, अशोक कुमार चौधरी, जयबहादुर गुरुङ लगायतले इभि गाडी खरिद गरेका थिए ।