पोखरा (कृष्ति) मा आज सुन्तला महोत्सव हुदै, सुन्तला प्रतिकेजी ५० देखि १०० रुपैयाँमा बिक्री, किसानलाई महानगरबाट प्रतिकेजी १० रुपैयाँ प्रोत्साहन

-


     पोखरा क्लिक     
     पौष १० गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा १०, पुस,

पोखरा २१ को कृष्ती दोपरे–हर्राबोट क्षेत्र आज (विहिबार) सुन्तला महोत्सव हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर २१ मा पहिलो पटक आयोजना हुँदै गरेको सुन्तला महोत्सव २०८२ बिहान ११ बजेदेखि सुरु हुने तयारी गरिएको छ । “नेपालको राष्ट्रिय फल—सुन्तलाः उपभोग, स्थानीय उत्पादन, पर्यटन र अर्थतन्त्रमा सहयोग” भन्ने नारासहित सुरु हुन लागेको महोत्सवले कृषकको श्रम, स्थानीय उत्पादन र बजारलाई एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा कृषकले आफ्नै बगैंचाबाट उत्पादन गरेको सुन्तला बिक्रि वितरण गर्ने भएको पोखरा २१ का वडाध्यक्ष दीपक प्रसाद सुवेदीले बताए । सुन्तलाको गुणस्तर तथा ग्रेडिङको आधारमा न्यूनतम प्रतिकेजी ५० देखि १०० रुपैयाँसम्म मूल्य निर्धारण गरी बिक्री हुने व्यवस्था मिलाइएको उनले जनाए । त्यसमाथि बिक्री भएको प्रत्येक केजीमा पोखरा महानगरपालिकाले थप १० रुपैयाँ प्रोत्साहन रकम किसानलाई उपलब्ध गराउने भएको छ । पोखरामा उत्पादन हुने सुन्तलामध्ये करिब आधा हिस्सा—अर्थात् करिब ५० प्रतिशत—यही वडा नम्बर २१ क्षेत्रमा उत्पादन हुने गरेको पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनोहर कडरियाले बताए । पोखरा क्षेत्रमा कागती सहित करिब ४ हजार टन सुन्तला उत्पादन हुने गरेको छ । उत्पादन र सम्भावना दुबै उच्च भए पनि व्यवस्थित बजार अभाव भइरहेकाले पहिलो पटक महोत्सव मार्फत स्थानीय सुन्तलालाई ब्रान्डिङ र बजारसँग जोड्ने लक्ष्य राखिएको कडरियाले पोखराक्लिकलाई बताए ।

महोत्सवको प्रारम्भमा झाँकीसहितको ¥याली निस्कने, सुन्तलाको पहाड बनाइने, सुन्तला ग्रेडिङ प्रर्दशन, सुन्तला खाने प्रतियोगिता र अधिक उत्पादन गर्ने कृषकलाई सम्मान समेत गरिने कार्यक्रम रहेको छ । करिब २० वटा स्टल रहने महोत्सव स्थलमा सुन्तलासँगै स्थानीय फलफूल, तरकारी तथा अन्य कृषि उपजको प्रदर्शन र बिक्री पनि हुनेछ । यता, महोत्सवको औपचारिक उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले गर्ने कार्यक्रम रहेको वडास्तरीय कृषि सञ्जालले जनाएको छ । कृष्तीको सुन्तलालाई “पोखराको पहिचान” बनाउन महोत्सव निर्णायक बन्ने आशा गरिएको स्थानिय इन्द्र प्रसाद सुवेदीले बताए । आफुहरु निकै उत्साहित भएको उनले बताए ।