
पोखरा, ५ पुस,
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङ घरेडीमा पर्यटनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । फोनिजको आयोजनामा, फोनिज गण्डकी प्रदेशको समन्वय तथा फोनिज कास्कीको सहकार्यमा शनिबार कालाबाङस्थित सामुदायिक होमस्टेमा ‘पोखरामा पर्यटन प्रवर्द्धनमा आदिवासी जनजाति पत्रकारको भूमिका’ विषयमा अन्तरक्रिया गरिएको हो । पोखरा पर्यटन वर्ष २०२५ को सन्दर्भमा पोखरा महानगरपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ अर्यालले पर्यटकीय गन्तव्यको प्रचार–प्रसारमा पत्रकारको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको बताए । नेपाललाई विश्व पर्यटन मानचित्रमा चिनाउन आदिवासी जनजातिको संस्कार र संस्कृतिले निर्णायक योगदान पुर्याइरहेको उल्लेख गर्दै उनले ती मूल्य–मान्यताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको बताए । उनले भने, “आदिवासी जनजातिहरूको संस्कृति नेपालको पर्यटन प्रवर्द्धनको आधार हो, यसलाई जोगाउनु हाम्रो कर्तव्य हो ।” प्रमुख प्रशासकीय अधिकृत अर्यालले हाल पोखरा महानगरपालिकाले पर्यटकलाई लक्षित गर्दै प्रकृति, संस्कृति तथा साहसिक पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए ।
कार्यक्रममा व्यवसाय केन्द्र पोखराका प्रमुख नवराज अधिकारीले पर्यटनसम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै पोखरा आन्तरिक तथा बाह्य पर्यटकका लागि अत्यन्तै उपयुक्त गन्तव्य भएको बताए । पोखरामा आयोजना हुने विभिन्न मेला–महोत्सवहरूले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण टेवा पुर्याइरहेको उनले उल्लेख गरे । उनका अनुसार पोखरा महानगरपालिकाले यस वर्ष २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । “लक्ष्य प्राप्तिका लागि महानगर निजी क्षेत्रसँग सहकार्य गर्न पूर्ण रूपमा तयार छ,” उनले भने । फोनिजका संघीय महासचिव समीर बलामीले पोखरा कास्की मात्र नभई समग्र नेपालको पर्यटनको प्रतिनिधित्व गर्ने गन्तव्य भएको बताए । आदिवासी जनजातिको संस्कृति र पर्यटन क्षेत्र एक–अर्काका परिपूरक भएको उल्लेख गर्दै उनले रैथाने उत्पादनको प्रवर्द्धन आजको आवश्यकता भएको धारणा राखे । आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फोनिजका संघीय सल्लाहकार डण्ड गुरुङ, उजिर मगरलगायत वक्ताहरूले पर्यटकीय गतिविधिलाई थप चलायमान बनाउन पत्रकारहरूले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । यसैबीच, शनिबार नै कालाबाङमा फोनिजको तेस्रो पूर्ण बैठक पनि सम्पन्न भएको छ । बैठकमा फोनिजको संघीय कार्यसमिति, सातै प्रदेशका जिल्ला इन्चार्जसहित पदाधिकारीहरू तथा गण्डकी प्रदेशअन्तर्गतका जिल्ला अध्यक्ष र पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।




