स्पेनमा ११औँ निन्टाइन कप क्योकुशिन कान कराँतेमा असोक लामा रुम्बा पुनः प्रमुख रेफ्री

-


     पोखरा क्लिक     
     मंसिर २८ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २८ मंसिर,

युरोपेली मुलुक स्पेनमा सम्पन्न ११औँ निन्टाइन कप क्योकुशिन कान कराँते प्रतियोगिता २०२५ मा नेपाली क्योकुशिन कान कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्यातिप्राप्त प्रशिक्षक एवं रेफ्री असोक लामा रुम्बाले पुनः प्रमुख रेफ्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको छ । डिसेम्बर १२ र १३ ९मंसिर २६ र २७० मा आयोजित उक्त प्रतियोगितामा स्पेन, जापान, कोरिया लगायत १८ देशका खेलाडीहरूको सहभागिता रहेको थियो ।

यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली रेफ्रीलाई प्रमुख रेफ्रीको जिम्मेवारी दिइनु नेपाली खेलकुदका लागि गौरवको विषय भएको रुम्बाले बताउनुभयो । विदेशी भूमिमा रहेर पनि खेलका नियम र मर्यादाभित्र रहेर निष्पक्ष रूपमा रेफ्रीको भूमिका निर्वाह गर्दै नेपाली नाम अन्तर्राष्ट्रिय मञ्चमा उच्च राख्न पाएकोमा आफूलाई गर्व लागेको उहाँको भनाइ छ । “१८ देशका खेलाडी सहभागी प्रतियोगितामा प्रमुख रेफ्रीको जिम्मेवारी पाउनु सम्पूर्ण नेपालीका लागि खुशीको कुरा हो,” रुम्बाले भन्नुभयो । यसअघि पनि रुम्बाले गत वर्ष सोही प्रतियोगिताको १०औँ संस्करणमा प्रमुख रेफ्रीको भूमिका निर्वाह गर्दै नेपालको खेलकुद इतिहासमा नयाँ उपलब्धि थप्नुभएको थियो । नेपाल शिन क्योकुशिन कराँतेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत रहनुभएका रुम्बाले आफ्नो कुशलता, अनुशासन र मेहनतका कारण अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर विश्वास जित्दै आउनुभएको छ ।

रेफ्रीका रूपमा रुम्बाको निष्पक्ष र प्रभावकारी प्रदर्शनले आयोजक समिति तथा दर्शकहरूको प्रशंसा पाएको थियो । सोही कारण आयोजकले यस वर्ष पनि उहाँलाई प्रमुख रेफ्रीको जिम्मेवारी सुम्पिएको जनाइएको छ । प्रतियोगिता सम्पन्नपछि रुम्बाले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट प्राप्त अनुभव र ज्ञान नेपालका खेलाडी तथा प्रशिक्षकहरूसँग बाँड्दै नेपाली कराँतेको स्तर अझ उकास्न प्रतिबद्ध रहेकोसमेत बताउनुभएको छ ।