पोखरेली टेनिस खेलाडी अभिषेक बास्तोला भियतनामको युटिआर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा सहभागी हुने (भिडियो सहित)

-


     पोखरा क्लिक     
     मंसिर १६ गते २०८२ मा प्रकाशित


पोखरा,

पोखराबाट टेनिस खेल जीवन सुरू गरेका नेपाली टेनिस खेलाडी अभिषेक बास्तोला भियतनाममा हुने युटिआर अन्तर्राष्ट्रिय टेनिस प्रतियोगितामा नेपालका तर्फबाट सहभागी हुने भएका छन्। डिसेम्बर १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा उनी नेपालका एक मात्र प्रतिनिधि हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलन उनले जनाएका हुन् ।

हाल अमेरिकामा अध्ययन सहित व्यावसायिक टेनिस खेल्दै आएका २३ वर्षीय बास्तोला अन्तर्राष्ट्रिय टेनिस महासङ्घ आइटिएफको विश्व वरियताका खेलाडी हुन् । आठ वर्षको उमेरमा पोखरामा टेनिस खेल्न सुरू गरेका बास्तोलाले तेह्र वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै आएका छन्। अहिलेसम्म उनी २२ राष्ट्रमा प्रतिस्पर्धा गरिसकेका छन्। उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको झण्डा बोकेर खेल्दा आउने अनुभूति आफूलाई निरन्तर उत्साहित बनाउने बताए। नेपालमा प्रशिक्षण पूर्वाधार र प्रशिक्षकको अभावका कारण अभ्यासमा कठिनाइ हुने गरेको उल्लेख गर्दै उनले प्राविधिक सुविधा र प्रशिक्षण व्यवस्थामा सहयोग भए अझ राम्रो प्रदर्शन गर्नसकिने धारणा व्यक्त गरे।

अभिषेक पोखराका व्यवसायी अनुज बास्तोलाका छोरा हुन्। अनुज स्वयं टेनिस खेलमा संलग्न रहेकाले अभिषेकको प्रारम्भिक प्रशिक्षण पोखरामै सहज भएको मानिन्छ। पछिल्लो हप्तासम्म भारतमा अन्तर्राष्ट्रिय खेल खेलेर पोखरा फर्किएका बास्तोला बुधबार भियतनाम प्रस्थान गर्ने तयारीमा छन्। उनले युटिआरका साथै विभिन्न व्यावसायिक प्रतियोगिताहरू प्रतिस्पर्धा गरिसकेको जानकारी दिए।

ओलम्पिकमा खेलेर नेपाललाई विश्वस्तरमा परिचित गराउने लक्ष्य रहेको उनले बताए। उनले सन् २०२६ को यूएस ओपनमा सहभागी हुने लक्ष्यसहित तयारी अघि बढाएको उल्लेख गर्दै आवश्यक सहयोग र प्रोत्साहन मिले नेपालबाट पनि विश्वस्तरको व्यावसायिक खेलाडी बन्न सकिने धारणा राखे। युटिआर प्रतियोगिताको छनोटका लागि विश्वका तीन हजार खेलाडीभित्र पर्ने मापदण्ड पूरा गरेपछि उनी भियतनाममा हुने प्रतियोगितामा सहभागी हुन योग्य बनेका हुन्। पत्रकार सम्मेलनमा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष याम्बी आस्था, पुर्व अध्यक्ष विनोद लामिछानेले देशको प्रतिनिधित्व सहित उक्त प्रतियोगितामा सहभागि भई रहदा संस्थागत रुपमा सहभागि गराउनु पर्नेमा जोड दिए ।