दिलीपराज पौडेललाई विद्यावारिधी उपाधि

-


     पोखरा क्लिक     
     असार ११ गते २०८१ मा प्रकाशित


पोखरा, ११ असार

पोखरा विश्वविद्यालयले नेपालमा निवृत्तिभरणको व्यवस्थामा सुधार विषयमा शोध तयार गर्नुभएका दिलीपराज पौडेललाई विद्यावारिधी उपाधि प्रदान गरेको छ । पोखरा विश्वविद्यालयको काउन्सिल अफ डक्टरेट स्टडिजको निर्णय अनुसार पौडेललाई विद्यावारिधी उपाधि प्रदान गरिएको हो ।

वि सं २०२६ साल बैशाख २७ गते भरतपुर नगरपालिका वडा नं ५ नारायणपुरमा जन्म भई हाल ललितपुरमा बसोवास गर्दै आउनुभएका पौडेल बिगत ३४ बर्षदेखि कर्मचारी संचय कोषमा कार्यरत हुनुहुन्छ । यस अघि पोखरास्थित कर्मचारी सञ्चय कोषमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालीसक्नुभएका उहाँ हाल कर्मचारी सञ्चय कोषको हेटौंडा कार्यालय प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

विभिन्न राष्ट्रिय एवम् अन्तराष्ट्रिय तालिम, सेमिनारहरूमा सहभागिता जनाइसक्नुभएका पौडेलले विभिन्न क्याम्पसहरूमा समेत अध्यापन गराइसक्नुभएको छ । सामाजिक सुरक्षाको महत्वपूर्ण पाटोका रुपमा रहेको निवृत्तिभरण व्यवस्थापनको विषयले विश्वव्यापी चासो र चर्चा पाइरहेका सन्दर्भमा पौडेलको यो शोधले नेपालमा चुनौतीपूर्ण बन्दै गएको निवृत्तिभरण व्यवस्थापन क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

नेपालमा सरकारी तथा सार्वजनिक संस्थाहरुमा योगदानरहित निवृत्तिभरणको व्यवस्थापन भइरहँदा यसले राज्यकोषबाट आर्थिक दायित्व बेहोर्नुपरेको थियो । यसलाई सहज बनाउँदै २०७६ साउन १ गतेदेखि नयाँ नियुक्त हुने सरकारी कर्मचारी (निजामती, सेना, प्रहरी, सशस्त्र प्रहरी र विशेष सेवा) का हकमा योगदानमा आधारित निवृत्तिभरणका लागि ६÷६ प्रतिशत योगदान सुरु गरिएको छ ।

जसको संकलन तथा व्यवस्थापनका लागि सरकारले कर्मचारी सञ्चयकोषलाई जिम्मेवारी दिएको छ । यद्यपि अहिलेसम्म पनि शिक्षकहरू योगदानमा आधारित निवृत्तिभरण योजनामा समेटिएका छैनन् । साथै प्रदेश र स्थानीय तहमा नयाँ नियुक्त भएका कर्मचारीहरू र सबै सार्वजनिक संस्थाहरूमा यो व्यवस्था पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । पौडेलको यस शोधले राज्यलाई नीतिगत सुधारका लागि थप योगदान गर्न सक्ने विश्वास लिइएको छ ।