पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर प्रणाली लागू हुने प्रक्रिया अघि बढ्यो, पर्यटन क्षेत्र उत्साहित

-


     पोखरा क्लिक     
     असाेज २९ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, डाइभर्सन तथा उडान रद्द हुने समस्या न्यूनीकरण गर्न आरएनपी–एआर प्रविधि लागू गर्ने प्रक्रिया अघि बढेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यसका लागि आवश्यक प्रारम्भिक प्राविधिक अध्ययन सम्पन्न गरेसँगै पोखराको हवाई सेवा थप सुरक्षित, नियमित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गनेस पौडेलले यस प्रक्रियालाई पोखराको हवाई सेवाको सुधारतर्फको महत्त्वपूर्ण कदमका रूपमा उल्लेख गर्नुभयो । उहाँका अनुसार आरएनपी–एआर प्रणाली कार्यान्वयनमा आएपछि प्रतिकूल मौसम र कम दृश्यताका कारण हुने उडान अवरोध, विमान डाइभर्ट गर्नुपर्ने तथा उडान रद्द हुने समस्या कम गर्न सहयोग पुग्नेछ। नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य सन्तोष पोखरेलले पहाडी भू–बनोटका कारण चुनौतीपूर्ण मानिने पोखरा विमानस्थलमा यो प्रविधि कार्यान्वयन भएमा विमानलाई निर्धारित अवतरण मार्गमा अझ सटीक रूपमा सञ्चालन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसबाट उडान सुरक्षा र नियमिततामा सुधार आउने अपेक्षा गरिएको छ। आरएनपी–एआर भनेको विशेष अनुमति र आधुनिक नेभिगेसन प्रणालीको सहायताले विमानलाई जटिल भू–बनोट भएका क्षेत्रमा पनि निर्धारित अवतरण मार्ग सटीक रूपमा पछ्याउन मद्दत गर्ने प्रविधि हो।

हाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रेडियो सङ्केतमा आधारित मार्गनिर्देशन तथा अवतरण प्रणाली सञ्चालनमा छ। तर विमानस्थलको भौगोलिक अवस्थिति र आसपासको पहाडी भू–बनोटका कारण प्रतिकूल मौसममा उडान तथा अवतरण सञ्चालन चुनौतीपूर्ण हुने गरेको छ। यस्तो अवस्थामा उपग्रहमा आधारित आरएनपी–एआर प्रणालीले विमानलाई निर्धारित मार्गअनुसार सुरक्षित रूपमा अवतरण गराउन थप सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ। पोखराबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएको फ्लाई दुबईले समेत प्रतिकूल परिस्थितिका कारण समस्या भोग्नुपरेको छ। उक्त प्रणालीको अभावमा एकपटक फ्लाई दुबईको विमान लखनउ डाइभर्ट गर्नुपरेको र अर्को दिन उडान रद्द गर्नुपरेको घटनाले पनि पोखरा विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणालीको आवश्यकता थप उजागर गरेको छ।

यसैबीच, पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले आरएनपी–एआर प्रविधि कार्यान्वयनको प्रक्रिया अघि बढाएकोमा पर्यटनमन्त्रीप्रति आभार व्यक्त गर्नु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त प्रविधि तत्काल जडान गर्नुपर्ने आवश्यकता मन्त्रीसमक्ष राखिएको स्मरण गर्दै उनले यस विषयलाई गम्भीरतापूर्वक लिएर कार्यान्वयनको दिशामा अघि बढाइएकोमा धन्यवाद दिनुभयो ।। श्रेष्ठले यस पहलले पोखराको पर्यटन प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनका लागि थप ऊर्जा र उत्साह प्रदान गरेको बताउनु भयो । हवाई सेवा नियमित र विश्वसनीय बन्न सके पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्नसमेत सकारात्मक योगदान पुग्ने उहाँले जनाउनु भयो ।

प्राधिकरणका अनुसार आरएनपी–एआर प्रणाली कार्यान्वयनका लागि विस्तृत प्रक्रिया डिजाइन, प्राविधिक प्रमाणीकरण, सुरक्षा मूल्याङ्कन तथा नियामकीय स्वीकृतिलगायतका चरण पूरा गर्नुपर्नेछ। यी प्रक्रिया सम्पन्न भएपछि प्रतिकूल मौसमका कारण विमान अन्य विमानस्थलमा डाइभर्ट गर्नुपर्ने, अवतरणमा कठिनाइ हुने तथा उडान रद्द गर्नुपर्ने अवस्थाहरू न्यूनीकरण हुने अपेक्षा गरिएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालन, अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार र पर्यटन क्षेत्रको दिगो विकासका लागि आरएनपी–एआर प्रणालीको कार्यान्वयनलाई पर्यटन व्यवसायीहरूले महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। अब यसको प्रक्रिया छिटो सम्पन्न गरी व्यवहारमा कार्यान्वयन गर्न सके पोखराको हवाई सेवा र पर्यटन क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्ने अपेक्षा गरिएको छ।



This will close in 20 seconds