पोखरामा दशैंको अवसरमा १० किलोमिटर खुला सडक दौड प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     असाेज २९ गते २०८३ मा प्रकाशित


दीननाथ बराल,

पोखरा, असोज २९,

स्वस्थ जीवनशैली र नियमित शारीरिक व्यायामको महत्वबारे सन्देश प्रवाह गर्ने उद्देश्यले पोखरामा १० किलोमिटर खुला सडक दौड प्रतियोगिता आयोजना हुने भएको छ । जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजना तथा एनवाईसी रत्नचोकको सहआयोजनामा हुने प्रतियोगितामा हालसम्म ४५० जना महिला तथा पुरुष धावकले नाम दर्ता गराइसकेको आज क्याम्पसमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

दशैंको अवसर पारेर आयोजना गर्न लागिएको प्रतियोगिताले नियमित शारीरिक व्यायामलाई दैनिक जीवनको हिस्सा बनाउन प्रेरित गर्ने क्याम्पस प्रमुख कृष्णबाबु बरालले बताउनु भयो । शिक्षासँगै खेलकुद पनि मानव स्वास्थ्यका लागि उत्तिकै आवश्यक रहेको उहाँले बताउनुभयो । स्वस्थ जीवनका लागि शारीरिक सक्रियता महत्वपूर्ण हुने उल्लेख गर्दै उहाँले खेलकुदका माध्यमबाट स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

एनवाईसी रत्नचोकका अध्यक्ष आशिक गुरुङले दशैंको अवसरमा नियमित शारीरिक व्यायाम मानव स्वास्थ्यका लागि आवश्यक छ भन्ने सन्देश दिन दौड प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । दौडलाई दैनिक कार्यतालिकामा समावेश गर्न सके स्वस्थ जीवनशैली अपनाउन र रोगका कारण उत्पन्न हुने आर्थिक, मानसिक तथा शारीरिक तनाव कम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले पछिल्लो समय पोखरामा दौडप्रति आकर्षण बढ्दै गएको बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउनुका साथै खेलकुद संस्कृतिको विकासमा समेत योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो । त्यसैगरी पर्यटनविद् दीपेन्द्र पहारीले पोखरामा खेल पर्यटनको अथाह सम्भावना रहेको बताउनुभयो । खेलकुदसँग पर्यटनलाई जोड्न सके पोखराको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने उहाँको भनाइ थियो ।

प्रतियोगिता रत्नचोकबाट सुरु भई सिर्जनाचोक, जिरो किलोमिटर, हल्लनचोक, खहरे, लेकफुड ट्रेक, बाराही मन्दिर, शहीदचोक, राष्ट्रबैंकचोक, ड्यामसाइड, बिरौटा, मुस्ताङचोक र हर्कसिंह चोक हुँदै जनप्रिय बहुमुखी क्याम्पसमा पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा महिला तथा पुरुष दुवैतर्फ प्रथम, द्वितीय र तृतीय हुने धावकलाई क्रमशः १० हजार, सात हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ। दौड पूरा गर्ने सबै धावकलाई समेत मेडल प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताबाट बचत हुने रकम एनवाईसीका युवाले टोल विकासका गतिविधि तथा जनप्रिय बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीको छात्रवृत्तिमा खर्च गर्ने जनाइएको छ । एनवाईसी रत्नचोक तथा जनप्रिय बहुमुखी क्याम्पसबीच एक दशकअघि भएको सम्झौताअनुसार एनवाईसीले हालसम्म २५ जना विद्यार्थीलाई स्नातक तहको अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिसकेको छ । स्थानीय युवाद्वारा स्थापित सामाजिक संस्था एनवाईसी रत्नचोक तथा स्थानीय शिक्षाप्रेमी, समाजसेवी र संघसंस्थाको योगदानमा स्थापित गैरनाफामूलक शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसले सहकार्यमा एयरपोर्ट र रत्नचोक क्षेत्रका टोलमा विभिन्न सामाजिक तथा शैक्षिक गतिविधि सञ्चालन गर्दै आएका छन्।



This will close in 20 seconds