
दीननाथ बराल,
पोखरा, २९ असोज,
पर्यटनको मुख्य सिजन सुरु भइसक्दा पनि पोखरामा पर्यटकको आगमन न्यून रहेको छ । प्राकृतिक विपद्, बाढीपहिरो तथा सडक अवरोधका कारण प्रभावित बनेको पोखराको पर्यटन बजार नोभेम्बरदेखि भने क्रमशः चलायमान हुने पर्यटन व्यवसायीले आशा गरेका छन् ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार हाल पोखराका पर्यटकीय होटलको अकुपेन्सी करिब २५ प्रतिशतमा सीमित छ । विगतका वर्षमा यही सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दा होटल अकुपेन्सी ८० प्रतिशतसम्म पुग्ने गरेको भए पनि यस वर्ष पर्यटन व्यवसाय अपेक्षाकृत कमजोर बनेको उहाँले बताउनुभयो ।
कोटेकोशी, कालीगण्डकी र बुढीगण्डकी क्षेत्रमा आएको बाढी तथा विभिन्न सडक र राजमार्गमा भएको अवरोधले पर्यटकको आवागमन प्रभावित पारेको सुवेदीको भनाइ छ । देशमा देखिएको प्राकृतिक विपद्का कारण होटलमा भएका करिब ३० प्रतिशत अग्रिम बुकिङसमेत रद्द भएको उहाँले पोखराक्लिकलाई बताउनु भयो । जानकारी दिनुभयो । पोखरामा पर्यटकीय स्तरका चार सयभन्दा बढी होटल रहेको र ती होटलमा एकै रातमा करिब ४० हजार बेड क्षमताको व्यवस्था रहेको होटल संघ पोखरा नेपालको दाबी छ । पर्यटकीय सिजनमा अपेक्षित पर्यटक नआउँदा होटल व्यवसायीले आर्थिक दबाब सामना गर्नुपरेको छ ।
यद्यपि, पछिल्लो समय सडक तथा राजमार्ग सञ्चालनमा आउनु, मौसम अनुकूल बन्दै जानु र नोभेम्बरका लागि होटल बुकिङ सुरु हुनुले व्यवसायीमा आशा जगाएको छ । रेवान पोखराका अध्यक्ष वसन्त गौतमले दशैँको मुख तथा अक्टोबर महिनामा अपेक्षाकृत कम पर्यटक आए पनि नोभेम्बरका लागि हाल बुकिङ हुन थालेको बताउनुभयो । उहाँले आगामी दिनमा पोखराका होटल तथा रेस्टुरेन्टमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्ने विश्वास व्यक्त गर्नुभयो । “हामी आशावादी छौँ । मौसमले पनि साथ दिएको छ र सडक तथा राजमार्गहरू खुलेका छन् । अब पोखराका होटल तथा रेस्टुरेन्टमा आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्ने अपेक्षा गरेका छौँ,” गौतमले भन्नुभयो ।
पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा पर्यटकको आगमन कम हुँदा त्यसको प्रभाव आसपासका पर्यटकीय गन्तव्यमा समेत परेको व्यवसायीको भनाइ छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष सुरेश लामिछानेले फेवाताल क्षेत्रमा आउने पर्यटक बेगनासतालसम्म पुग्ने गरेको भए पनि समग्र पोखरामै पर्यटकको चहलपहल घट्दा बेगनास क्षेत्रको पर्यटन व्यवसायसमेत प्रभावित भएको बताउनुभयो । पर्यटकको आगमन न्यून हुँदा पर्यटकलाई स्वागत सत्कार गर्न व्यस्त हुनुपर्ने समयमै व्यवसायी फुर्सदिला बनेको उहाँले उल्लेख गर्नुभयो । यद्यपि, पछिल्लो समय देखिन थालेको सुधारको संकेतले आगामी दिनमा पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको लामिछानेले बताउनुभयो ।
यसैबीच, पोखरामा अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुनुले पनि पर्यटन क्षेत्रलाई उत्साहित बनाएको छ । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले असोज ७ गतेदेखि सुरु भएको फ्लाई दुबईको नियमित अन्तर्राष्ट्रिय उडानले पोखराको पर्यटन प्रवद्र्धनमा थप सम्भावना सिर्जना गरेको बताउनुभयो ।
फ्लाई दुबईले आगामी वर्षको अक्टोबरसम्मका लागि टिकट बुकिङ खुला गर्नुले पोखरामा नियमित अन्तर्राष्ट्रिय हवाई सेवाको निरन्तरता र पर्यटन विकासका लागि सकारात्मक आधार तयार भएको श्रेष्ठको भनाइ छ । नियमित अन्तर्राष्ट्रिय उडानले विदेशी पर्यटकको आगमन बढाउन तथा पोखरालाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्न सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा प्राकृतिक सौन्दर्य, फेवाताल, बेगनासताल, सराङकोट, विश्वशान्ति स्तूप, पुम्दीकोटको विशाल महादेवको मूर्ति तथा आसपासका पदयात्रा मार्गका कारण स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र रहँदै आएको छ । तर, पर्यटन सिजनमै पर्यटकको आगमन न्यून हुँदा होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटनसम्बद्ध व्यवसाय प्रभावित भएका छन् । सडक सञ्जाल सहज बन्दै जानु, मौसमले साथ दिनु, अन्तर्राष्ट्रिय हवाई उडानको नियमितता र नोभेम्बरका लागि देखिएको बुकिङको संकेतले पोखराको पर्यटन बजार पुनः लयमा फर्किने अपेक्षा व्यवसायीले गरेका छन् ।





