
पोखरा,
पोखरामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा पैदलयात्री र मोटरसाइकल चालकसहित दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१७ स्थित बालोदय चोकमा सिद्धार्थ राजमार्गअन्तर्गत बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकल चालक १९ वर्षीय सफलकुमार श्रेष्ठ र पैदलयात्री ४५ वर्षीय कृष्ण कुमालको ज्यान गएको प्रहरीले जनाए ।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ७ बजे विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले सडक पार गर्दै गरेका कुमाललाई ठक्कर दिएको थियो। पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित बनेको मोटरसाइकल सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई सुरुमा विरौटास्थित नोबेल अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याइएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए। मृतक श्रेष्ठ पोखरा महानगरपालिका–१७ का स्थानीय बासिन्दा हुन् भने कुमालको स्थायी घर लमजुङ रहेको र उनी हाल पोखरा–१७ विरौटामा बस्दै आएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे कास्की प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। तष्विर एआईजेनेरेटेड





