
दीननाथ बराल,
पोखरा, असोज २८,
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका केन्द्रीय अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले पोखराको पृथ्वीचोक क्षेत्रमा सञ्चालन भइरहेका अव्यवस्थित टिकट काउन्टर तत्काल व्यवस्थापन गरी हटाउन सरकारसँग माग गरेका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ गण्डकी प्रदेश समितिले आइतबार पोखरामा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष सिटौलाले अव्यवस्थित रूपमा सञ्चालन भइरहेका टिकट काउन्टरका कारण यात्रु, व्यवसायी र ट्राफिक व्यवस्थापन सबै प्रभावित भएको बताए। उनले यातायात क्षेत्रलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन सम्बन्धित निकायले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिए।
अध्यक्ष सिटौलाले भारतीय सवारीसाधनलाई नेपाल प्रवेश गरेपछि प्रमुख सहरसम्म सञ्चालन गर्न दिए पनि पर्यटकीय गन्तव्यभित्र भने स्थानीय सवारीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे। यसले नेपाली व्यवसायीको लगानी संरक्षण हुनुका साथै स्थानीय अर्थतन्त्रलाई पनि टेवा पुग्ने उनको भनाइ थियो। नेपाल–भारतबीच हुने यातायातसम्बन्धी सम्झौतामा समानताको सिद्धान्त लागू गर्नुपर्ने उल्लेख गर्दै उनले क्षमताभन्दा बढी भार बोकेर नेपाल प्रवेश गर्ने मालवाहक सवारीका कारण सडक र पुलमा ठूलो क्षति पुगेको बताए। तौल जाँच प्रणाली प्रभावकारी नहुँदा राज्यले राजस्वसमेत गुमाइरहेको उनको दाबी थियो।
ट्राफिक कारबाहीका विषयलाई लिएर भएका घटनालाई राजनीतिक रंग दिन नहुने उल्लेख गर्दै उनले संवाद र सहकार्यबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिए। मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध सेवन (लापसे) गरेर सवारी चलाउनेविरुद्ध सरकारले सञ्चालन गरेको अभियानलाई महासङ्घले पूर्ण समर्थन गर्ने उनले बताए। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले यातायात व्यवसायलाई थप व्यवस्थित, सुरक्षित र सेवामुखी बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए। व्यवसायीका समस्या समाधानका लागि सरकार आवश्यक नीतिगत सुधार र सहकार्यका लागि तयार रहेको उनले उल्लेख गरे।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, गगनगौंडाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेले ट्राफिक नियमको पालना चालकको पहिलो दायित्व भएको बताए। एक चालकको जिम्मेवारीमा सवारीसाधनमा रहेका धेरै यात्रुको जीवन निर्भर रहने भएकाले चालकहरू अझ जिम्मेवार, अनुशासित र संवेदनशील हुनुपर्नेमा उनले जोड दिए। महासङ्घका वरिष्ठ उपाध्यक्ष एनकुमार शाहीले सरकार र व्यवसायीबीचको समन्वयबाट मात्र यातायात क्षेत्रका समस्या समाधान हुने बताए। महासङ्घ विधान मस्यौदा समितिका सदस्य सचिव योगेन्द्र केसीले यातायात क्षेत्रको दीर्घकालीन विकासका लागि स्पष्ट र स्थायी नीति आवश्यक रहेको धारणा राखे। महासंघ ट्याक्सीका वर्गिय संयोजक प्रकाशमणी तिवारीले चर्को शुल्क लिदैमा ट्राफिक नियम लागु हुन्छ भन्नु शाषकको भ्रममात्र भएको टिप्पणी गरे । कार्यक्रममा महासङ्घका वरिष्ठ उपाध्यक्ष एनकुमार शाही, वरिष्ठ उपाध्यक्ष केदारप्रसाद पौडेल, उपमहासचिव भानुभक्त बराल, सचिव उमेश एस।के। तथा कोषाध्यक्ष राजेन्द्र आचार्यलाई सम्मान गरिएको थियो। महासङ्घ गण्डकी प्रदेश समितिका संयोजक महेशबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सातौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिलाई बधाई तथा सम्मान गर्नुका साथै प्रदेश समितिका मनोनीत सदस्यलाई शपथग्रहण गराइएको महासचिव अर्जुन पौडेलले पोखराक्लिकलाई जानकारी दिए।







