
पोखरा ,
यू१६ छात्ररछात्रा जुनियर ह्याण्डबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकेडेमी फाइनलमा प्रवेश गरेका छन् ।पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगती माविलाई र पोखरा एकेडेमीले पोखरा लर्नस एकेडेमीलाई सेमीफाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।
सम्पन्न खेलमा गुरूकुलले प्रगती माविलाई १५–११ तथा पोखरा एकेडेमीले पोखरा लर्नसलाई १७–१४ गोल अन्तरले पराजित गरे । त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कुल ए टिम फाइनलमा स्थान बनाएको छ । सम्पन्न सेमीफाइनलमा पोखरा एकेडेमीलाई ३–० गोलले पराजित गरी फाइनलमा पुगेको हो । त्यस्तै छात्रातर्फको एक अर्को खेल भने वर्षाका कारण स्थागित भएको छ । दोस्रो सेमीफाइनल खेल गण्डकी बोर्डिङ बी र प्रगती मावि बीच हुने तय थियो । आज रोकिएको एक सेमीफाइनल खेल, तेस्रो स्थान एवं फाइनल खेलहरु सबै भोली ९सोमबार० हुने रेफ्रि संयोजक विशाल बस्नेतले जानकारी दिएका छन् । गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना, प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवर्द्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताका विजेता छात्र तथा छात्रा टोलीले समान २५ हजार रुपैयाँ, उपविजेताले १५ हजार रुपैयाँ र तेस्रो हुने टोलीले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्तालाई जनही ३ हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ । प्रतियोगितामा छात्र–छात्रातर्फ गरी २२ टिमको सहभागिता रहेको छ ।







