
दीननाथ बराल
पोखरा,
अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले सार्वजनिक जग्गामा निर्माण गरेको अस्थायी टहरा भत्काएको छ । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा खाली गर्न दिएको सूचनाको आधारमा महानगरको सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानलाई सफल पार्न आफुहरुले डोजर लगायर पोखरा ९ मा रहेका अस्थायी टहरा तथा सभाहल सहित केही संरचना भत्काएको महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले बताउनु भयो ।
महासंघले प्रयोग गर्दै आएको उक्त जग्गा करिब ४ रोपनी क्षेत्रमा फैलिएको छ । महासंघले २०६७ सालमा करिब डेढ करोडको लागतमा निर्माण गरेको महासंघको कार्यालय पक्की भवन भने पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्ने जनाएको छ । अध्यक्ष गौतमले भन्नुभयो“ पोखरा महानगरपालिका वडा नम्बर ९ को कार्यालय हाल भाडामा रहेकोले उक्त भवनलाई कार्यालय बनाउन उपयुक्त हुन्छ । ” विभिन्न ट्रेड यूनियन मध्य सबै भन्दा पछि सार्वजनिक जग्गामा कार्यालय सहितको टहरा निर्माण गरेको नेकपा निकटको ट्रेड यूनियन अखिल नेपाल ट्रेड यूनियन महासंघले महानगरको सार्वजनिक जग्गा संरक्षण गर्ने अभियानमा मार्ग प्रसस्त गरेको गौतमले जनाउनु भयो । महानगरले पोखराका सबै सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने बताउदै उहाँले महानगरको उक्त अभियानमा आवश्यक परे थप सहयोग गर्ने समेत उहाँले बताउनु भयो ।
अन्य राजनीतिक दलका ट्रेड यूनियनहरुको समेत भवन तथा अस्थायी टहरा निर्माण भएका छन भने सामुदायिक प्रहरी सेवा पृथ्बीचोक पोखरा, हिमाली सास्कृतिक परिवार, सहारा क्लव लगायतका विभिन्न संघ संस्थाले समेत सार्वजनिक जग्गामा कार्यालय भवन तथा टहरा बनाएका छन् । सहारा क्लवले समेत कार्यालय भवन खाली गरी सौहार्द पूर्ण ढंगले महानगरको अभियानलाई सहयोग गर्ने भएको क्लवले पोखराक्लिकलाई जनाएको छ ।
अध्यक्ष गौतमले पोखरा बसपार्क निर्माणका लागि पूर्व निर्धारित २०५ रोपनी क्षेत्रफलमै परियोजना सञ्चालन हुनु पर्ने र सुकुम्बासीलाई वैकल्पिक व्यवस्थासहित मात्र स्थानान्तरण गरिनु पर्ने माग गर्नु भएको छ । मजदुरको रोजीरोटीको व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषलाई अनिवार्य गर्न, मजदुरको हक सुरक्षित गर्न, वैकल्पिक व्यवस्था नगरी सुकुम्बासी बस्ती खाली नगर्न पनि महासंघले सरकारसँग आग्रह गरेको छ ।
यसैबिच, पोखरा फिर्केखोलाको अतिक्रमित संरचना जेठ ९ गते भित्र हटाउन पोखरा महानगरले अल्टिमेटम दिएको छ । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका सबै संरचना जेठ ९ भित्र स्वेच्छाले हटाउन सार्वजनिक सूचना जारी गरेको हो । समयसीमा भित्र नहटाए महानगरले आफैँ भत्काउने र खर्च सम्बन्धित व्यक्तिबाटै असुल गर्ने चेतावनी दिएको छ ।
महानगरका अनुसार वडा नं. १८ अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६ गाईघाटसम्म फैलिएको फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी करिब १६० संरचना निर्माण भएका छन्। यसअघि पनि हटाउने सूचना जारी भए पनि मुद्दा परेपछि रोकिएको थियो । उच्च अदालत पोखराले महानगरको पक्षमा निर्णय गरेपछि अब अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो । फिर्केखोला क्षेत्रमा पनि लायन्स क्लव देखि फोटो ग्राफर संघ लगायतका प्रतिष्ठित संघ संस्थाहरुले स्वतस्फुर्त महानगरको सार्वजनिक र खालाको मापदण्डमा परेका भौतिक संरचना हटाउने अभियानमा आफै कार्यालयमा रहेका सामान हटायर महानगरको अभियानलाई सहयोग गर्नु भएको छ ।




