लमजुङको समिभञ्ज्याङमा चैते दशैँको अवसरमा हाफ म्याराथन

-


     पोखरा क्लिक     
     फागुन ३० गते २०८२ मा प्रकाशित


पोखरा,

लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं. ५ समिभञ्ज्याङमा विगत २५ वर्षदेखि क्रियाशील कायापलट असल शासन क्लबको आयोजनामा चैते दशैँको अवसरमा खुला हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ।
समुन्द्री सतहदेखि करिब १५०० मिटरको उचाइमा रहेको धार्मिक तथा ऐतिहासिक स्थल तान्द्राङकोट नागभैरब थानको प्रचारप्रसार गर्ने उद्देश्यले यसपालिदेखि हरेक वर्ष हाफ म्याराथन प्रतियोगिता आयोजना सञ्चालन गरिने क्लबका अध्यक्ष बाबुराम मल्लले जानकारी दिनुभयो । 

तान्द्राङकोटबाट विभिन्न २५ जिल्ला ,पोखराको फेवाताल तथा अन्नपूर्ण हिम श्रृङ्खला राम्रोसँग अवलोकन गर्न सकिने र हाम्रा स्थानीय ठाउँहरूको पनि चिनारी होस् भन्ने चाहना स्वरूप म्याराथन आयोजना गरिएको सचिव इभन जोशीले जानकारी गराउनुभयो । मध्यनेपाल नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष ओमवीर गुरुङका अनुसार ूपछिल्लो क्रममा नेपालमा पनि आन्तरिक पर्यटनको सम्भावना बढ्दो छ । जसका लागि हाम्रो यो क्षेत्र पनि एउटा गन्तव्य बन्न सक्छ । यसैका लागि पनि हामी काम गरिरहेका छौँ । हाम्रा सामाजिक जनजीवन र यहाँका प्राकृतिक तथा साँस्कृतिक पक्षहरू नै समिभञ्ज्याङको मूल आकर्षण हो ू अध्यक्ष गुरुङले भन्नुभयो ।

प्रथम हुनेले नगद तीस हजार र मेडल, द्वितीय हुनेले नगद बीस हजार र मेडल, तृतीय हुनेले नगद दस हजार र मेडल प्राप्त गर्ने छन् भने तीन जना धावकलाई सान्वना पुरस्कार स्वरूप तीन हजार रुपियाँ र मेडलले सम्मान गरिने कुरा सचिव इभन जोशीले बताउनुभयो ।