
दीननाथ बराल,
पोखरा, २७ फागुन,
प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले पोखरामा एकै दिन ९ घण्टामा पुस्तक बिक्री गरेर करिब ८ लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन्। बुधबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्म विभिन्न स्थानमा स्वयं उपस्थित भएर उनले कुल १ हजार ४०८ प्रति पुस्तक बिक्री गरेका हुन्।
पुनले आफ्नो जीवनकथामा आधारित आत्मकथात्मक पुस्तक बिक्री गर्दै आएका छन्। विद्यार्थीका लागि पुस्तकको मूल्य ५०० रुपैयाँ र अन्यका लागि ७५० रुपैयाँ तोकिएको छ। सोही दिनको बिक्रीबाट लाखौँ रुपैयाँ संकलन भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले देशभरि पुस्तक बिक्री गरेर २० करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको र हालसम्म करिब १२ करोड रुपैयाँ बराबरको पुस्तक बिक्री भइसकेको बताएका छन्। पोखरामा बुधबार उनले बिहान चिप्लेढुंगा, दिउँसो सभागृह चोक र बेलुका बिरौटा चोक क्षेत्रमा स्वयं उपस्थित भएर पुस्तक बिक्री गरेका थिए। पाठकलाई उनले हस्ताक्षरसहित पुस्तक हस्तान्तरण गर्ने भएकाले पुस्तक किन्न सर्वसाधारण, विद्यार्थी तथा युवाहरूको उल्लेख्य भीड लागेको थियो। पुनका अनुसार पुस्तक बिक्रीबाट संकलित रकम वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन तथा राष्ट्रिय आविष्कार केन्द्रका गतिविधिमा खर्च गरिनेछ। हाल आविष्कार केन्द्रमा किसानलाई आवश्यक पर्ने साना–साना कृषि औजार निर्माणको काम भइरहेको उनले बताएका छन्।

यसैबीच, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पुनलाई सडकमा अव्यवस्थित ढंगबाट पुस्तक बिक्री नगर्न सुझाव दिएका छन्। सामाजिक सञ्जालमार्फत ध्यानाकर्षण गराउँदै उनले पुनको अभियानप्रति सम्मान व्यक्त गर्दै पुस्तक बिक्रीलाई व्यवस्थित रूपमा सञ्चालन गर्न आग्रह गरेका हुन्। मेयर आचार्यले बिना दर्ता वा आवश्यक अनुमति सडकमा वस्तु बिक्री गर्दा कानुनी जटिलता आउन सक्ने उल्लेख गर्दै, पुस्तक बिक्रीका लागि उचित स्थान उपलब्ध गराउन पुस्तक व्यवसायी महासंघमार्फत सहयोग गर्न सकिने बताएका छन्। आवश्यक स्टक उपलब्ध गराएमा महासंघमार्फत बिक्री गरी उचित भुक्तानी दिलाउन पनि सहजीकरण गरिने उनको भनाइ छ।
यता पुनले भने सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै सडकमा फोहोरको थुप्रो नदेख्नेहरूले आफूले पुस्तक बिक्री गरेको मात्र देखेको भन्दै प्रश्न उठाएका छन्। उनले आफ्नो फुर्सदको समयमा पुस्तक बिक्री गर्दै आएको र उक्त रकम अनुसन्धान तथा नवप्रवर्तनका काममा खर्च गरिने बताएका छन्। यसअघि सोमबार पनि पुनले पोखराका अमरसिंहचोक र पृथ्वीचोक लगायतका स्थानमा पुगेर पुस्तक बिक्री गरेका थिए। सो दिन मात्र करिब ८ सय प्रति पुस्तक बिक्री भएको बताइएको छ। सांसद भएर पनि सादा पोसाक र चप्पलमा सडकमा उभिएर पुस्तक बिक्री गर्ने पुनको शैलीले धेरैलाई प्रभावित बनाएको छ। सामाजिक सञ्जालमा यस विषयमा मिश्रित प्रतिक्रिया देखिए पनि धेरैले भने उनको अभियानलाई सहयोग गर्न स्वतःस्फूर्त रूपमा पुस्तक खरिद गरिरहेका छन्।




