सांसद महाविर पुनलाई पोखरामा पुस्तक बिक्री गर्न भ्याई नभ्याई (भिडियो सहित)

-


     पोखरा क्लिक     
     फागुन २५ गते २०८२ मा प्रकाशित


दीननाथ बराल,
पोखरा, २५ फागुन,

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा प्रतिनिधिसभा सदस्य महाविर पुनलाई आज (सोमबार) पोखरामा आफ्नो जीवनीमा आधारित पुस्तक बिक्री गर्न भ्याई नभ्याई भएको छ । केन्द्र सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउने अभियान अन्तर्गत पुनले सोमबार पोखराका विभिन्न क्षेत्रमा पुस्तक बिक्री गर्नु भएको हो ।

पोखराको अमरसिंहचोक, पृथ्वीचोक लगायतका स्थानमा पुगेर उहाँले दिन भरीजसो पुस्तक बिक्रि गर्न भ्याई नभ्याई भएको थियो । स्वयं पुस्तक बिक्री गर्नुका साथै पाठकलाई हस्ताक्षर गरेर पुस्तक हस्तान्तरण गरी फोटो समेत खिचाउनु भएको थियो । पुनसँग भेट्न र पुस्तक खरिद गर्न सर्वसाधारण, विद्यार्थी तथा युवाहरूको उल्लेख्य भीड लागेको थियो। पुनका आफन्तका अनुसार सोमबार पोखरामा मात्रै करिब ७ सय प्रति पुस्तक बिक्री भएको छ । विद्यार्थीहरूका लागि पुस्तकको मूल्य ५ सय रुपैयाँ तथा अन्यका लागि ७ सय रुपैयाँ तोकिएको थियो । सोमबार पोखरामा करिब ४ लाख मुल्य बराबरको पुस्तक बिक्रि भएको उहाँका आफन्तले पोखरा क्लिकलाई जनाउनु भयो ।

हालै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका पुनले केन्द्र सञ्चालनका लागि आवश्यक सहयोग जुटाउन आफ्नो फुर्सदको समयमा पुस्तक बिक्री गर्ने योजना अनुसार देशका विभिन्न स्थानमा पुगेर पुस्तक बिक्री गर्न थाल्नु भएको हो । यही अभियानका क्रममा उहाँ पोखरा आइपुग्नु भएको हो । निर्वाचनका वेला किताव बिक्रि गर्ने योजना भए पनि निर्वाचन आचासंहिताले नदिए पछि निर्वाचन पछि हाल किताव बिक्रिको लागि उहाँ आफ्नो अभियानमा लाग्नु भएको छ । पोखरामा पुस्तक बिक्रीका क्रममा पुनसँग फोटो खिच्नेहरूको समेत भीड लागेको थियो। सामान्य पोसाकमा चप्पल लगाएरै आउनु भएको पुनको सादा जीवनशैलीले धेरैलाई प्रभावित बनाएको देखिन्थ्यो । केही समर्थकले उहाँलाई पैसाको फूल लगाइदिनु भएको थियो भने कतिपयले फूलमाला र खादा ओढाएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई समेत दिनुभयो ।

फोटो खिच्नेहरूको भीड बढेपछि पुनले सबैलाई पालो दिन आग्रह गर्दै छिटो–छिटो फोटो खिच्न आग्रह गर्नु भएको थियो । धेरै सेल्फी लिन खोज्नेहरूलाई उहाँले ‘सबैलाई पालो दिनुपर्छ’ भन्दै सम्झाउने प्रयास पनि गर्नुभयो । राष्ट्रिय आविष्कार केन्द्र सञ्चालन तथा वीरगञ्ज कृषि औजार कारखाना सुधार र सञ्चालनका लागि रकम जुटाउने उद्देश्यले पुनले आफ्नो जीवनकथामा आधारित पुस्तक बिक्री अभियान चलानु भएको हो । यसअघि पनि उहाँले देशका विभिन्न जिल्लामा पुगेर पुस्तक बिक्री गर्दै आउनु भएको थियो । उहाँले करोडौंको किताव बिक्रि गर्नु भएको छ । यसैबिच, भीड व्यवस्थापनका क्रममा केही असहज स्थिति पनि देखिएको थियो। एक व्यक्तिले ‘सांसद भएर पनि किताब बेच्दै हिँड्ने ?’ भन्दै असन्तुष्टि व्यक्त समेत गर्नुभयो । जननिर्वाचित सांसद किताव बिक्रि गर्न किन हिडेको मलाई किन धकेलेको भन्दै सांसद पुनलाई दुव्र्यवहार गर्दै भुईमा थुक्नु भएको थियो ।



This will close in 20 seconds