मुस्ताङमा कांग्रेसका तीन कार्यकर्ता फरार, पाँच लाख नगदसहित गाडी नियन्त्रणमा

-


     पोखरा क्लिक     
     फागुन १९ गते २०८२ मा प्रकाशित


मुस्ताङ,

हिमालपारीको जिल्ला मुस्ताङमा मौन अवधिका बेला नगदसहित गाडी नियन्त्रणमा परेपछि राजनीतिक माहोल तनावग्रस्त बनेको छ । लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट लोमान्थाङतर्फ जाँदै गरेको ग १ च ६५२४ नम्बरको सवारी साधनबाट पाँच लाख रुपैयाँ नगद बरामद भएपछि तीन जना कांग्रेस समर्थित कार्यकर्ता फरार भएको आरोप लागेको छ ।

तष्विर सामाजिक संजालएस.के. आस्था थकाली

सशस्त्र प्रहरी बल नेपालको निर्वाचन सुरक्षा बेस, चराङले उक्त गाडीलाई शंकास्पद अवस्थामा रोकेर जाँच गरेको थियो। प्रहरीका अनुसार गाडीभित्र नेपाली कांग्रेसको चारे–तारे झण्डाले बेरिएको अवस्थामा नगद रु। ५ लाख फेला परेको हो। गाडीमा सवार नवाङ कुङ्गा लामा, झिग्मे ढान्डुल र फोन्जोक साङ्बो रहेको जनाइएको छ। जाँचका क्रममा उनीहरू फरार भएको स्थानीय स्रोतले जनाएको छ। प्रहरीले राजनीतिक दलका प्रतिनिधिको रोहबरमा खानतलासी गर्दा मतदाता नामावलीको प्रतिलिपि र मतदान केन्द्रमा रकम बाँड्ने स्थान उल्लेख गरिएको डायरीसमेत बरामद गरेको दाबी गरिएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी अजिता शर्माले घटनाको बारेमा आफुहरुले पनि नगद सहित गाडी नियन्त्रणमा भएको बताउदै कानून अनुसार कार्वाही हुने जनाइन् ।

घटनाको विरोधमा जिल्लामा उम्मेदवारी दर्ता गराएका विभिन्न राजनीतिक दल र उम्मेदवारहरू जिल्ला प्रशासन कार्यालयमा भेला भएका थिए । उनीहरूले घटनाको भर्त्सना गर्दै नेपाली कांग्रेसका उम्मेदवारको उम्मेदवारी खारेजी गर्न माग गरेका छन्। माग पूरा नभए निर्वाचन बहिष्कार गर्ने चेतावनीसमेत दिएका छन्। कांग्रेसबाहेक नेकपा (एमाले_, नेकपा, रास्वपा, राप्रपा लगायत सात दलले संयुक्त रूपमा विरोध जनाएका छन्। सर्वदलीय बैठक मंगलबार विना निष्कर्ष टुंगिएको छ भने बुधबार बिहान ९ बजे पुनः बस्ने बताइएको छ। नेकपाका केन्द्रीय सदस्य धिरेन्द्र बिकले नगदसहित गाडी पक्राउ पर्नु र तीन जना फरार हुनु गम्भीर विषय भएको बताउँदै कांग्रेस उम्मेदवार योगेश गौचन थकालीको उम्मेदवारी खारेज हुनुपर्ने माग गर्नुभयो। उहाँले माग सम्बोधन नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी नहुने चेतावनी दिनुभयो।

यता नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीले भने गाडी धनीसँग केही लाख रकम हुनु स्वाभाविक भएको दाबी गर्दै उक्त घटनामा पार्टीको संलग्नता नरहेको प्रतिक्रिया दिए । यस विषयमा धेरै बोल्न आवश्यक नरहेको उहाँको भनाइ छ। निर्वाचन आयोग र प्रशासनले भने बुधबार बस्ने सर्वदलीय बैठकले घटनाबारे आवश्यक निर्णय लिने जनाएको छ। अहिले मुस्ताङको राजनीतिक अवस्था संवेदनशील बनेको छ भने फरार तीन जनाको खोजी कार्य जारी रहेको सुरक्षा स्रोतले जनाएको छ।