पुष २२ गतेदेखि पोखरामा सामुदायिक विद्यालयस्तरीय छात्र–छात्रा भलिबल प्रतियोगिता हुने

-


     पोखरा क्लिक     
     पौष १ गते २०८२ मा प्रकाशित


पोखरा, १ पुष,

सातौँ सृजना कप कास्की जिल्ला स्तरीय सामुदायिक विद्यालय छात्र–छात्रा भलिबल प्रतियोगिता यही पुष २२ गतेदेखि पोखरामा संचालन हुने भएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारा तथा ‘स्कुल–स्कुलमा भलिबल’ खेलको प्रवर्द्धन गर्ने उद्देश्यका साथ सृजना विकास केन्द्रको आयोजनामा तथा कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्यमा हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

यसअघि सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा हुँदै आएको प्रतियोगिता यस वर्षदेखि सृजना विकास केन्द्रको एकल आयोजनामा सातौँ संस्करणका रूपमा सञ्चालन हुन लागेको संस्थाका अध्यक्ष चन्द्र गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार विद्यालय तहबाटै खेलकुदको जग मजबुत बनाउँदै जिल्ला, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। छात्र तथा छात्रा दुवैतर्फका विजेताले जनही १ लाख रुपैयाँ, उपविजेताले ६० हजार रुपैयाँ र तृतीय स्थान हासिल गर्ने विद्यालयले ३५ हजार रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै सर्वोत्कृष्ट छात्र तथा छात्रा खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिनेछ।

कास्की जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रमा लुकेर रहेका प्रतिभालाई क्षमता देखाउने अवसर प्रदान गर्नु पनि प्रतियोगिताको अर्को उद्देश्य रहेको आयोजकले जनाएको छ। प्रतियोगिता सञ्चालनका लागि करिब ११ लाख ५० हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ भने १२ लाख ५० हजार रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको छ। खर्च कटाएर बचत हुने रकम संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका गतिविधिमा खर्च गरिने अध्यक्ष गिरीले बताउनुभयो। कार्यक्रम संयोजक बालकृष्ण बरालका अनुसार प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक ९सरकारी० विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत छात्र तथा छात्राले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा करिब ६० टिम सहभागी हुने अपेक्षा गरिएको छ। बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सेटर र बेष्ट सर्भर विधाका उत्कृष्ट खेलाडीलाई जनही एक थान भलिबल प्रदान गरिने संयोजक बरालले जानकारी दिनुभयो।

प्रतियोगिता पोखरा रङ्गशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा सञ्चालन हुनेछ। प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सञ्चारकर्मीको सहयोग अपरिहार्य रहेको उल्लेख गर्दै अध्यक्ष गिरीले प्रचार–प्रसारमा सहयोग गरिदिन सञ्चारकर्मीहरूसँग आग्रह गर्नुभयो। पत्रकार सम्मेलनमा सृजना विकास केन्द्रका निर्वतमान अध्यक्ष विष्णुप्रसाद बरालले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन सह–सचिव उर्मिला भट्टराईले गर्नुभएको थियो।