यु १४ छात्र तथा छात्रा विद्यालय स्तरीय फुटबल प्रतियोगिता, छात्र तर्फ २४ र छात्रा तर्फ ६ विद्यालयको सहभागिता

-


     पोखरा क्लिक     
     भाद्र ९ गते २०८२ मा प्रकाशित


पोखरा, भदौ ९,

आगामी विहीबारदेखि पोखरा रंगशालामा विद्यालयस्तरीय यु १४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता शुरु हुदैं छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा हुने प्रतियोगितामा छात्रा तर्फ ६ र छात्र तर्फ २४ विद्यालयले सहभागिता जनाउने छन् ।

यही भदौ १२ गतेदेखि हुने विद्यालयस्तरीय यु १४ छात्र फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सोमबार कास्की जिल्ला फुटबल संघले छात्र तर्फ सहभागि विद्यालयको खेल तालिका सार्वजनिक गरेको हो । छात्रा तर्फको खेल तालिका भने १७ गतेदेखि शुरु हुने छ । लिगचरणको खेल सकिएपछि छात्राहरुको खेल शुरु गरिने कास्की जिल्ला फुटबल संघले जनाएको छ । लिगकम नकाउटको आधारमा सञ्चालन हुने प्रतियोगिताको सार्वजनिक गरिएको खेल तालिका अनुसार पहिलो खेल गुरुकुलले शिशुकल्याण माविसँग खेल्ने छ । भदौ १२ गते पोखरा रंगशालाको मुख्य मैदानमा दिउँसो १ बजे हुने छ ।
कास्की जिल्ला फुटबल संघका अध्यक्ष उज्वल रन्जितका अनुुसार सहभागिता जनाएका २४ विद्यालयले लिगकै आधारमा प्रतिस्पर्धा गर्ने छन् । लिगचरणका खेलहरु भदौ १५ गतेसम्म सञ्चालन हुने छ । संघले प्रतियोगिताको लागि रंगशालाभित्रका दुवै फुटबल मैदानको उपयोग गर्ने छ ।

छात्र तर्फ समूह एमा बालकल्याण बोर्डिङ स्कुल,भद्रकाली मावि, स्नोभ्यु र शान्तिदिप रहेका छन् । समूह बीमा सैनिक आवासिय, कुमुदिनी होम्स, हेम्जा बोर्डिङ र सृजना सेकेण्डरी स्कुल रहेका छन् । समूह सीमा सोसल पब्लिक, फिष्टेल एकेडेमी, त्रिभुवन शान्ति नमूना र डायमण्ड बोर्डिङ छन् । समूह डीमा शिशुकल्याण, अल्फा बोर्डिङ, बालोदय बोर्डिङ र सिद्धीविनायक रहेका छन् । समूह ईमा कालिका मावि,सगरमाथा निकेतन, रिलायन्स पब्लिक र गण्डकी बोर्डिङ रहेका छन् । त्यस्तै समूह एफमा शान्तिनिकुञ्ज, शिशकल्याण मावि, गुरुकुल स्कुल र बेसलाईन बोर्डिङ स्कुल रहेका छन् । छात्रा तर्फ ६ विद्यालय सहभागिता जनाएको छ । छात्राहरुको खेल तालिका पनि संघले सोमबार नै साँझ मात्रै सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको खेल तालिका अनुसार भदौ १७ गते विहान ८ बजे त्रिभुवन शान्ति नमूना माविले सेन्टमेरिज स्कुलसँग प्रतिस्पर्धा गर्ने छ । सोही दिन विहान ९ बजे नै बेसलाईन एकेडेमीले सैनिक आवासिय माविसँग खेल्ने छ ।

प्रतियोगितामा छात्र तर्फ विजेताले नगद ५० हजार, उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला फुटबल संघले जनाएको छ । छात्रा तर्फको विजेताले नगद २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने संघले जनाएको छ । प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखराले नगद एक लाख रुपैयाँ, एबीज इन्जिनियरिङले ५० हजार रुपैयाँ लगायत अन्य संघसंस्थाले सहयोग गरेको छ । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिका खेलेको छ ।