
दीननाथ बराल,
पोखरा ३, जेठ,
ओलम्पिक दिवसको अवसरमा पोखरामा विभिन्न कार्यक्रम हुने भएको छ । ओलम्पिक दिवसको अवसरमा पोखरामा विभिन्न संघ संस्थाहरुले विभिन्न खेल सहितका गतिविधि आयोजना गर्दै ओलम्पिक दिवस मनाउने भएको नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले बताउनु भयो ।

यसै सन्दर्भमा पोखरा नदीपुरको माउण्ट अन्नपूर्ण माबिमा चौथो संस्करणको एसईई छात्रछात्रा लक्षित बास्केटवल सहितका विभिन्न प्रतियोगिता आयोजना हुने भएको उहाँले जनाउनु भयो । शिक्षासंगै खेलकुदको बिकास गराउने उद्वेश्यले ओेलम्पिक दिवसको अवसरमा बास्केटवल प्रतियोगिता, बक्तृत्वकला प्रतियोगिता र निबन्ध लेखन प्रतियोगिता यही असार ६ देखि ८ गतेसम्म हुने भएको सोमबार बिद्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराईएको हो । जुन २३ (यही असार ९ ) मा ओलम्पिक दिवस पर्दछ ।
बास्केटबल प्रतियोगिताकोे छात्र तर्फका बिजेताले नगद २० हजार, उपविजेताले नगद १० हजार र तेश्रो हुनेले ५ हजार साथमा पदक र प्रमाणपत्र प्राप्त गर्ने भएको बिद्यालयका प्रधानाध्यापक एवं कार्यक्रमका संयोजक सइन्द्रकुमार श्रेष्ठले जनाउनु भयो । उक्त विधामा छात्रा तर्फ भने कम टिम सहभागिता हुने भएकोले विजेतालाई ९ हजार उपविजेतालाई ६ हजार र तेश्रो हुनेलाई भने ३ हजार साथमा पदक तथा प्रमाण पत्र वितरण गरिने भएको छ । बक्तृत्वकला प्रतियोगिता(अग्रेंजीमा) हुने भएको छ जसको विजेतालाई ७ हजार उपविजेतालाई ५ हजार र तेश्रो हुनेलाई भने ३ हजार र शान्त्वनालाई १ हजारको साथमा पदक तथा प्रमाण पत्र वितरण गरिने भएको प्लस टु संयोजक कृष्ण धितालले बताउनु भयो ।
त्यसै गरी ‘रोल अफ ओलम्पिक गेम्स’ विषयक बक्तृत्वकला प्रतियोगिता असार ६ गते आयोजना हुने भएको विद्यालयका कार्यक्रम निर्देशक अशोक शाहीले जनाउनु भयो । कार्यक्रम अन्तर्गत नै हुने निवन्ध लेखन प्रतियोगिता ‘वर्तमान समयमा ओलम्पिक खेलको भूमिका’ विषयमा हुनेछ । उक्त कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज बहादुर गुरुङले विश्वका २ सय बढी मुलुकमा ओलम्पिक दिवसका अवसरमा विभिन्न खेलकुदका गतिविधिहरु हुने भएको बताउनु भयो । विश्वमा शान्ति र एकताको सन्देश दिन पनि शिक्षासंगै खेलकुदलाई अघि बढाइएको उहाँको भनाई छ । आधुनिक खेलकुदको जगलाई बलियो बनाउन यो दिवश महत्वपूर्ण रहेको उपाध्यक्ष गुरुङको भनाई छ ।
सो अवसरमा विद्यालयका सञ्चालक समितिका पूर्व अध्यक्ष चिजकाजी गुरुङ(काजी), स्पोर्टस फर अल कमिसनका गण्डकी प्रदेशका संयोजक अध्यक्ष खड्ग बहादुर रानाभाटले विद्यालयले ओलम्पिक ‘डे’को अवसरमा आयोजना गर्ने खेलकुद कार्यक्रमले खेलकुद प्रति सकरात्मक प्रभाव पार्नेमा जोड दिनु भयो । विद्यालयले शैक्षिक सत्र २०८० मा एस.इ.ई दिएर बसेका विद्यार्थीहरुलाई सबै कार्यक्रममा सक्रिय सहभागिता जनाउन आग्रह गरेको छ । विद्यालयले बास्केटबल छात्रतर्फ १८ र छात्रातर्फ ८ भन्दा बढि टिमको सहभागिता हुन सक्ने जनाएको छ । बिद्यालयमा हाल करिब १ हजार १ सय भन्दा बढी बिद्यार्थी अध्ययनरत हुनुहुन्छ ।



