
दीननाथ बराल,
पोखरा, असार २६,
गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका ८ हजार मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरेका ६ जना पर्वतारोहीलाई नगदसहित सम्मान गरेको छ । पोखराको पौवा होटलमा आज (शुक्रबार) आयोजित ‘प्रदेशभित्रका पर्वतारोहीलाई सहयोग तथा सम्मान कार्यक्रम’ मा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल तथा मन्त्रालयका सचिव रोशन ज्ञवालीले जनही ४५ हजार रुपैयाँ, सम्मानपत्र, मायाको चिनो र दोसल्ला प्रदान गरी पर्वतारोहीहरूलाई सम्मान गर्नु भएको हो ।
सम्मानित हुनेमा गोरखाको चुमनुब्री गाउँपालिका–१ का नाङसल छ्योटोन लामा, पर्वतको कुश्मा नगरपालिका–९ का किरणबहादुर पी।सी।, कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ का किशोर अधिकारी, पर्वतको बिहादी गाउँपालिका–४ का देवीप्रसाद न्यौपाने, तनहुँको ऋषिङ गाउँपालिका–२ का अमित थापा तथा घिरिङ गाउँपालिका–५ का नवराज राना रहनुभएको छ। कार्यक्रममा मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको पर्यटन विकास अब पर्यटकको संख्या बढाउने प्रतिस्पर्धाभन्दा उनीहरूको बसाइ अवधि बढाउने रणनीतितर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। ूहामीले अब कति पर्यटक आए भन्नेभन्दा पनि उनीहरूलाई गण्डकीमा थप दिन कसरी बस्न प्रेरित गर्न सकिन्छ भन्नेमा ध्यान दिनुपर्छ,ू उहाँले भन्नुभयो, ूपर्यटकको बसाइ लम्बिँदा पर्यटनबाट हुने आर्थिक गतिविधि र स्थानीय आम्दानी दुवै बढ्छ।ू
उहाँले पछिल्ला वर्षहरूमा विशेषगरी भारतीय पर्यटकको आगमन उत्साहजनक रूपमा बढ्दै गएको उल्लेख गर्दै अफसिजन मानिने समयमा समेत पोखरा लगायत गण्डकीका पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल कायम रहनु पर्यटन क्षेत्रका लागि सकारात्मक संकेत भएको बताउनुभयो। यसले पर्यटन व्यवसायीलाई ठूलो राहत मिलेको उहाँको भनाइ थियो। मुख्यमन्त्री पाण्डेले हिमाललाई नेपालको पहिचान र गौरवसँग जोडिएको अमूल्य सम्पदाका रूपमा व्याख्या गर्दै विश्वभर बढ्दो योग, ध्यान र वेलनेसप्रतिको आकर्षणलाई मध्यनजर गर्दै गण्डकीका हिमाली क्षेत्रलाई साहसिक पर्यटनसँगै आध्यात्मिक तथा वेलनेस पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने प्रदेश सरकारको योजना रहेको जानकारी दिनुभयो।
उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले पर्वतारोहीहरूको साहस, धैर्य र समर्पणले नेपालको पर्वतीय पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनीहरूको उपलब्धिले नयाँ पुस्तालाई समेत प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो। सम्मानित पर्वतारोहीमध्ये नाङसल छ्योटोन लामाले सगरमाथासँगै मनास्लु र ल्होत्से हिमाल सफलतापूर्वक आरोहण गर्नुभएको छ। अन्य सम्मानित पर्वतारोहीहरूले पनि सगरमाथा, कञ्चनजङ्घा तथा अन्नपूर्ण–१ जस्ता विश्वका ८ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गरी प्रदेशको गौरव बढाएका छन्।
उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव टिकाराम पौडेलका अनुसार प्रदेश सरकारको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत पाँच लाख रुपैयाँ बजेट विनियोजन गरी पहिलो पटक यस्तो सम्मान कार्यक्रम सञ्चालन गरिएको हो। प्रदेशका नागरिकलाई पर्वतारोहण क्षेत्रमा थप प्रोत्साहन गर्ने र उनीहरूको योगदानको राज्यबाट सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँले पोखराक्लिकलाई बताउनुभयो।






