पोखराको सार्वजनिक जग्गा खाली गराउने अभियान सुरु , केही ठाँउमा आफै हटाउदै

-


     पोखरा क्लिक     
     जेठ ८ गते २०८३ मा प्रकाशित


पोखरा,

पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षणका लागि जारी गरेको अभियान अन्तर्गत पोखरा ९ मा रहेको अस्थायी टहरा र संरचना भत्काएको छ। अखिल नेपाल ट्रेड यूनियन महासंघ गण्डकी प्रदेशले महानगरको सूचनाअनुसार डोजर प्रयोग गरेर आफ्नो प्रयोगमा रहेको अस्थायी टहरा, सभाहल र केही संरचना भत्काएको महासंघका अध्यक्ष रुद्र गौतमले पोखराक्लिकलाई जानकारी दिनुभयो।

महासंघले करिब ४ रोपनी क्षेत्रमा फैलिएको जग्गामा २०६७ सालमा करिब डेढ करोडको लागतमा बनाएको कार्यालय पक्की भवन पोखरा महानगरपालिकालाई हस्तान्तरण गर्ने तयारीमा रहेको गौतमले बताउनुभयो। उहाँले भन्नुभयो, “पोखरा महानगरपालिका वडा नं। ९ को कार्यालय भाडामा रहेकोले उक्त भवन कार्यालयका लागि उपयुक्त हुन्छ।” महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण अभियान अन्तर्गत फिर्केखोलामा १६० भन्दा बढी अतिक्रमित संरचना हटाउन जेठ ९ भित्र अल्टिमेटम जारी गरेको छ । यस क्षेत्रमा वडा नं. १८ अँधेरीकुनादेखि वडा नं. ६ गाईघाटसम्म फैलिएको अतिक्रमण हटाउने प्रक्रिया उच्च अदालत पोखराले महानगरको पक्षमा निर्णय गरेपछि अघि बढाइएको हो।

यसबीच, पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्ने भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बासिन्दाहरूले वैकल्पिक व्यवस्था बिना स्थानान्तरण गरिने प्रयासका विरुद्ध विरोध केही समय अघि पोखरामा प्रदर्शन गरेका थिए । भूमिहीन तथा अव्यवस्थित बासिन्दा संघर्ष समितिका अध्यक्ष प्रेमबहादुर गुरुङले भन्नुभयो “हामीलाई उचित विकल्प नदिई जबर्जस्ती हटाउन खोजिए कडा प्रतिकार गर्छौं।” प्रदर्शनका क्रममा सहभागीहरूले महानगरपालिकासमक्ष ३५ दिनभित्र जारी सूचना र संरचना हटाउने कार्य रोक्ने तथा वैकल्पिक बसोबासको व्यवस्था सुनिश्चित गर्न माग राखेका छन्।

पोखरा उपत्यका नगर विकास समितिले २०३२ सालमा बसपार्क निर्माणका लागि करिब २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। बसपार्कमा हाल करिब ४७५ घरपरिवार बसोबास गरिरहेका छन् भने १९ रोपनी मात्र खाली रहेको छ। सडक खण्ड निर्माणका कारण करिब १८ रोपनी जग्गा प्रयोग भइसकेको छ। महानगरपालिकाले सुकुम्बासी समस्या समाधानमा सकारात्मक पहल गर्दै, कानुनसम्मत रूपमा बस्ती व्यवस्थापन गर्ने र वैकल्पिक स्थल उपलब्ध गराउने आश्वासन दिएको छ। मेयर धनराज आचार्यले सामाजिक संजालमार्फत जिम्मेवार ढंगले समस्या समाधान गर्ने प्रतिबद्धता जनाउँदै, आन्दोलनकारीलाई सहकार्य गर्न आग्रह गर्नुभएको छ। यस घटनाले पोखरा बसपार्क निर्माण र सार्वजनिक जग्गा संरक्षणका बीच सन्तुलन कायम गर्ने चुनौतीलाई फेरि उजागर गरेको छ।

यसैबिच, पोखरा फिर्केखोलाको अतिक्रमित संरचना जेठ ९ गते भित्र हटाउन पोखरा महानगरले अल्टिमेटम दिएको छ । पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघर (सीमा) भित्र बनेका सबै संरचना जेठ ९ भित्र स्वेच्छाले हटाउन सार्वजनिक सूचना जारी गरेको हो । समयसीमा भित्र नहटाए महानगरले आफैँ भत्काउने र खर्च सम्बन्धित व्यक्तिबाटै असुल गर्ने चेतावनी दिएको छ ।
महानगरका अनुसार वडा नं. १८ अँधेरीकुनादेखि वडा नं. २, ४, ५, ७, ८, १७ हुँदै वडा नं. ६ गाईघाटसम्म फैलिएको फिर्केखोलाको क्षेत्र अतिक्रमण गरी करिब १६० संरचना निर्माण भएका छन्। यसअघि पनि हटाउने सूचना जारी भए पनि मुद्दा परेपछि रोकिएको थियो । उच्च अदालत पोखराले महानगरको पक्षमा निर्णय गरेपछि अब अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको हो ।