पोखरामा दोश्रो कुमुदिनी होम्स एसईई कप सुरु

-


     पोखरा क्लिक     
     वैशाख २० गते २०८३ मा प्रकाशित


पोखरा,

खेलकुदको शहर पोखरामा दोश्रो ‘कुमुदिनी होम्स एसईई कप—२०८३ सुरु भएको छ । कुमुदिनी होम्स माविको आयोजनामा यही वैशाख २२ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको उद्घाटन शिक्षा विकास तथा समन्वय इकाई पोखराका प्रमुख लोकनाथ आचार्यले गरे । कार्यक्रममा बोल्दै उनले बिद्यार्थीहरुमा यस्ता खेलकुदका गतिविधि हुनुले समाजमा युवाहरुलाई खेलकुद प्रति आकर्षण हुने जनाए ।

एसईई दिएर बसेका विद्यार्थीहरुलाई खेलकुद प्रति आकर्षण बढाउन र भाईचाराको विकास गराउन प्रतियोगिता आयोजना गरिएको विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले जानकारी दिए । पालिखेले भने, “सम्पदा, कला, संस्कार, संस्कृति, पर्यावरण, पर्यटन र नेपाली मौलिक कुराहरुमा विद्यार्थीलाई उत्प्रेरित गर्दै आएका छौं ।” अध्यक्ष पालिखेले बास्केटबल छात्रतर्फ ३२ टोली, छात्रातर्फ १३ टोली र फुटसलमा ६० वटा टोलीको सहभागिता रहेको जानकारी दिए । उनका अनुसार बास्केटबल कुमुदिनी होम्सकै कोर्टमा खेलाईएको छ भने फुटसल गणेश टोलमा रहेको फुटसल मैदानमा आयोजना गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने हरेक टोलीका सदस्यहरुलाई कक्षा ११ र १२ मा अध्ययनका लागि पूर्ण घात्रबृत्तिको व्यवस्था गरिएको पालिखेले बताए । उनका अनुसार छात्र बास्केटबल र फुटसलतर्फ प्रथम हुनेले नगद २०, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ७ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । छात्रातर्फ प्रथम हुनेले नगद १५ हजार, दोश्रो हुनेले १० हजार र तेश्रो हुनेले ५ हजार, मेडल र प्रमाणपत्र पाउनेछन् । पोखरा महानगर शिक्षा महाशाखाका अधिकृत जीवन आचार्यले नेपालको खेलकुदको आधार क्षेत्र विद्यालय भएको बताए । विद्यालयस्तरबाटै खेलमा दिएको योगदानले भोलिको राष्ट्रका खेलाडीको रुपमा दर्ज हुने उनले बताए । खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबि आस्थाले खेलकुदको विकासको लागि विद्यालयले महत्वपूर्ण योगदान दिईरहेकोमा खुसि व्यक्त गरे। विद्यालयले पढाईका साथमा अतिरिक्त क्रियाकलापमा पनि जोड दिदै आएको छ ।