
पोखरा, पौष १,
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा यही पुष ३ गतेदेखि पोखरामा १८ औं हिसान स्पोर्टस मिट सुरु हुने भएको छ । १८ औं संस्करणको हिसान स्पोर्टस मिट यहि पौष ३ गते देखि ७ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने भएको मंगलबार पोखरामा आयाचचेजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

औपचारिक उद्घाटन भने पौष ४ गते हुने भएको छ । प्रतियोगितामा धेरै टिम सहभागि भएका कारण एक दिन अघि अनौपचारिक रुपमा खेलहरु सुरु हुने भएको हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीले बताए । शिक्षाको संगै विद्यार्थीहरुलाई अतिरिक्त कृयाकलाप खेलकुद मार्फत अघि बढाउने उद्धेश्य अनुरुप आयोजना गरिएको स्पोर्टस मिटको सम्पूर्ण तयारी पुरा भएको उनले जनाए ।
स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र÷छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको हिसान कास्कीका सचिब किरण सापकोटाले जानकारी दिए । प्रतियोगितामा कक्षा ११–१२ छात्र भलिबलमा ३८ र छात्रातर्फ २४ टिमहरुको सहभागिता हुने छ । त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ४६ तथा छात्रातर्फ २० टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ गरी २ सय ५० जना तथा व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डब्सल्समा गरी कुल २ सय ५८ जनाको सहभागिता रहेको हिसान कास्कीले जनाएको छ ।
अध्यक्ष जैशीले भने“यो प्रतियोगिता मात्रै होइन । यो खेलकुद उत्सव समेत हो । विद्यार्थीहरुलाई खेलकुद मार्फत उनीहरुको क्षमता अभिवृद्धि गर्नु हो भने अर्कातर्फ यूवा खेलाडी उत्पादन गर्नु हाम्रो प्रमुख उद्धेश्य हो । जुन उद्धेश्यमा हामी सफल भएका छौं ।” उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टुतर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १२ मध्ये ४० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाउने छन् । प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीका सचिब सापकोटाले जानकारी दिए । उनले भने–“यो सहभागिताका लागि र प्रतिस्पर्धाका लागि मात्रै आयोजना होइन । हिसानमा आवद्ध शैक्षिक संस्थाहरुमा अध्ययन गर्ने विद्यार्थीहरुका लागि यो सिक्ने थलो भएकोले पनि यो स्पोट्र्स मिटको महत्व छ ।”
प्रतियोगिता सम्पन्न गर्न करिव ३२ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने हिसान कास्कीका उपाध्यक्ष ढाकाराम कंडेलले जानकारी दिएका छन् । उनका अनुसार हरेक खेलको टिम विजेताले ७, दोस्रो हुनेले ५, तेस्रोले ३ र चौथो हुनेले १ अंक प्राप्त गर्नेछ । प्रतियोगितामा सर्वाधिक अंक प्राप्त गर्न सफल टिम च्याम्पियन बन्ने छ । सो टिमले उपाधिसँगै आकर्षक रनिङ्ग कप प्राप्त गर्नेछ ।
यसै बीच हिसान कास्कीले विगतका हिसान स्पोर्टस मिटमा सहभागिता जनाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्टता हासिल गर्न सफल खेलाडीहरुलाई सम्मान गर्ने कार्यक्रम अनुरुप १८औं सस्करणको उद्घाटन समारोहमा पावर लिफ्टिङकी विश्व च्याम्पियन शर्मिला शाहलाई नगद २५ हजारसहित सम्मान गरिने हिसान कास्कीले जनाएको छ । गत वर्ष हिसान कास्कीले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई सम्मान गरेको थियो । निजी शिक्षालयहरूको साझा संस्थाको रुपमा रहेको हिसान कास्कीअन्तर्गत कास्कीमा आवद्ध शिक्षालयहरुमा ४० हजार भन्दा बढी विद्यार्थी र ५ हजार बढी शिक्षक तथा कर्मचारीहरु कार्यरत छन् । हिसान कास्की शाखामा प्याब्सन, एनप्याब्सन, युनिप्स लगायतका संस्थामा आवद्ध विद्यालयहरुको आवद्धता रहेको छ । १५औं, १६औं र १७औं संस्करणको हिसान स्पोर्टस मिटको उपाधि प्रतिभा माविले लगातार तीन पटक जित्दै शिल्ड कब्जा गरेको थियो । हाल सम्म ग्लोबल कलेजियट मावि र न्यू ग्यालेक्सीले रनिङ शिल्ड जित्न (पच) गर्न सफल भए ।



