
पोखरा, २० मंसिर,
पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा बढ्दो सवारीका कारण पर्यटकलाई अप्ठेरो परेपछि समाधानका लागि विभिन्न सामुदायीक सेवा केन्द्र एवंम सामुदायीक प्रहरी सेवा बैदामले छलफल गरेको छ । स्थानीय निकाए, सुरक्षा निकाए र सरोकारवालाहरु बिच भएको छलफलमा पहिलो चरणमा लेकसाइडका सडकमा बसलाई सडकमा पार्किङ गर्न रोक लगाउने भएको छ ।
ठुला सवारी साधानहरुलाई पोखराको पर्यटन बसपार्क, बाराही घाट र क्याम्पिनचोकमा अहिलेलाई राख्ने व्यवस्था गरेको सामुदायीक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले जानकारी दिए । छलफलमा अहिले भ्रमण आउने बस र भारतीय नम्बरका बसहरु सडक मै पार्किङ गर्न गरेको बताउदै तिनलाई व्यवस्थीत गर्न सडकमा पार्किङ गर्न नदिने उनले बताए । उनले सडक सुरक्षा र व्यवस्थापनका लागी कार्यदल निर्माण गरी दिर्घकालिन समाधान खोजीने बताए । छलफलमा पोखरा महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुबहादुर भट्टराईले लेकसाइडको मुख्य सडक ठुला सवारी साधनहरु सडक छेउमै पार्किङ गर्दा सडकमा जाम हुने गरेको बताए । उनले त्यसलाई व्यवस्थीत गर्न ठुला सवारी साधनहरुलाई निश्चित ठाउँमा पार्किङ गर्नु पर्ने बताए । उनले सडक किनारको पार्किङलाई चरणबद्ध रूपमा हटाउने, वैकल्पिक पार्किङ क्षेत्र पहिचान गर्नु पर्ने बताए ।
वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराईले अव्यवस्थित पार्किङका कारण, सवारी आवागनमा अप्ठेरो परेको, दुर्घटनाहरु बढेका कारण सडकमा गरिने पार्किङलाई हटाउनु पर्ने बताए । उनले सडकमा ठाउँ ठाउँमा ट्राफिक संकेत बोर्ड राख्न आवश्यक रहेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजित कुमार देवकोटाले लेकसाइडका हल्नचोक देखी बाराहीचोक सम्म सवारी चाप बढी भएका कारण त्यस क्षेत्रमा पहिलो चरणमा एकतर्फि बनाउनु पर्ने, ठुला सवारीलाई पर्यटकलाई लैजान र ल्याउने काममा मात्रै प्रयोग गर्नुपर्ने, मालसामन ओसारपसार गर्ने सवारी साधनका लागि निश्चित सयम सिमा तोक्नु पर्ने बताए । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले व्यवस्थीत पार्किङको व्यवस्थान नहुदाँ पर्यटकले सास्ती खेप्नु परेको बताए । उनले व्यवसायीले पनि आफ्नो ग्राहकका लागि पार्किङको व्यवस्था गर्नु पर्ने बताए । त्यसै गरी सामुदायक सेवा केन्द्र कास्कीका अध्यक्ष भिम पराजुलीले व्यवस्थीत पार्किङ, ट्राफिक संकेतहरुको व्यवास्था गर्नु पर्ने बताए ।
कार्यक्रममा सामुदायीक सेवा केन्द्र बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, नागरीक समाज कास्कीका प्रवक्ता गोकुल कार्की, फेवा ढुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरी, नाट्टा गण्डकी प्रदेशकी उपाध्यक्ष संगिता पौडेल, पर्यटन व्यवसायी महिला संघ नेपालकी महासचिब शोभा अधिकारी पौडेल, सामुदायीक सेवा केन्द्र बैदामकी महासचिब शान्ता तिमिल्सिना, सदस्य अनिल थापा लगाएतले पर्यटक आवागमन बढेसँगै लेकसाइड क्षेत्रमा ट्राफिक चाप बढ्ने हुदाँ व्यवस्थीत गर्नु पर्नेमा जोडदिए । उनीहरुले एकतर्फी सवारी सञ्चालन, पार्किङ व्यवस्थापन लगाएतका ध्यान दिनुपर्ने बताए । लेकसाइडलाई केही वर्ष पहिले ‘नो भेइकल जोन’ बनाए पनि स्थानीयको विरोध पछि बन्द भएको थियो ।



