लेखनाथ उद्योग वाणिज्य संघको इतिहासमा पहिलो पटक महिला नेतृत्वको दाबी

-


     पोखरा क्लिक     
     भाद्र १२ गते २०८२ मा प्रकाशित


लेखनाथ, भदौ १२,

लेखनाथ उद्योग वाणिज्य संघको आगामी २९औं साधारण सभा तथा १५औं अधिवेशनमा पहिलो पटक महिला उम्मेदवार अध्यक्ष पदको दाबी सहित चुनावी मैदानमा उत्रिएकी छिन् । जानुका पराजुली अधिकारीले नेतृत्वले बिहीबार पत्रकार सम्मेलन मार्फत आफ्नो टिम घोषणा गर्दै संघको नेतृत्वमा पुग्ने प्रतिबद्धता जनाएकी हुन् ।

“ईमान्दारिता, पारदर्शिता र लगनशिलता, व्यावसायिक क्षेत्रमा सक्षम नेतृत्व आजको आवश्यकता” भन्ने नारा बोकेको उनको टिमले चुनावी प्रतिस्पर्धा गर्ने जनाएको छ । यसअघि २९ वर्षको इतिहासमा संघको नेतृत्वमा महिला उम्मेदवारको औपचारिक दाबी यसैपटक पहिलो पटक भएको हो, जसलाई व्यवसायिक क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । घोषित प्यानलमा अध्यक्षका उम्मेदवार पराजुलीसहित वरिष्ठ उपाध्यक्षमा गोपिचन्द्र बास्तोला, प्रथम उपाध्यक्षमा विक्रम कर्माचार्य, द्वितीय उपाध्यक्षमा ध्रुबबाबु भट्टराई, महासचिवमा भरतराज ओझा, उपमहासचिवमा गंगा कुमारी मल्ल, कोषाध्यक्षमा हरि बस्ताकोटी रहेका छन् । यस्तै, खुला सदस्यतर्फ प्रतिक्षा रानाभाट, प्रभा कुमारी पौडेल लामिछाने, बीरेन्द्रराज भुर्तेल, भविन्द्र पुन ‘भविन’, सुजन न्यौपाने, दिपक अधिकारी, कृष्ण प्रसाद तिमिल्सिना र सन्दीप बुढाथोकी, एसोसिएट सदस्यमा दयाराज राजभण्डारी, संस्थागत सदस्यमा विरभद्र कँडेल, महिला सदस्यमा सर्मिला श्रेष्ठ र गंगा सापकोटा परियार उम्मेदवार बनाइएको छ ।

पत्रकार सम्मेलनमा पराजुलीले रुपा, मादी र साविक लेखनाथका सम्पूर्ण व्यवसायीलाई एउटै छातामुनि समेट्ने वातावरण सिर्जना गर्ने आफ्नो टिमको मुख्य लक्ष्य रहेको बताइन् । “व्यावसायिक क्षेत्रमा देखिएका समस्याहरूमध्ये कतिपयलाई हामी आफैं सुल्झाउन सक्छौं भने कतिपयलाई राज्यलाई घच्घच्याउनुपर्ने खालका छन् । त्यसैले हामी आत्मविश्वासका साथ मैदानमा उत्रिएका हौं,” उनले भनिन् । उनको टिमले संघलाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने, सदस्यहरूको तथ्याङ्क इलेक्ट्रोनिक अभिलेखीकरण गर्ने, डिजिटल परिचयपत्रको व्यवस्था मिलाउने, उद्यमशिलतालाई प्रोत्साहन दिने, तीनै तहका सरकारसँग समन्वय गरी तालिम तथा परियोजना सहयोग सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

साथै, लघु तथा स्वरोजगारमुखी व्यवसायलाई प्राथमिकता दिँदै पालिकासँग सहकार्य गर्ने, स्थानीय उत्पादनलाई जोडदिँदै लेखनाथलाई उत्पादनमूलक क्षेत्रको रुपमा विकसित गर्ने र “मेड इन नेपाल” अभियानलाई प्रवर्द्धन गर्ने योजना अध्यक्षका उम्मेदवार पराजुलीले सार्वजनिक गरिन् । यस अधिवेशनमा दुई प्यानल बीच प्रतिष्पर्धा हुने देखिएको छ । व्यवसायिक वृत्तका धेरैको नजर भने पहिलो पटक महिला नेतृत्वमा संघ पुग्ने सम्भावना प्रति केन्द्रित भएको छ ।

यसैबिच, राजेन्द्र ओझा नेतृत्वको प्यानलमा रहेका उम्मेद्वारहरुले घरदैलो अभियानलार्इ समेत तिव्रता दिदै आएकाछन् । उमेदवारहरु तल यस प्रकार रहेका छन् ।