
दीननाथ बराल,
पोखरा ९, फागुन,
कास्कीको मादी गाउँपालिकाले आफ्नो स्थापना दिवसको अवसरमा प्रथम पालिका स्तरीय अध्यक्ष कप भलिवल प्रतियोगिता– २०८० को आयोाजना गर्ने भएको छ । यही फागुनको २७ देखि २९ गतेसम्म स्याङ्जाकोटमा उक्त भलिवल खेल हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
स्थानिय मिलन क्लवको सहकार्यमा उक्त भलिवल प्रतियोगिता हुने तयारी गरिएको मादी गाउँपालिकाको अध्यक्ष देविजङ्ग गुरुङले बताउनु भयो । उक्त प्रतियोगिता गण्डकी प्रदेश स्तरिय रहेकोले प्रदेशका ८४ वटै पालिकालाई पत्राचार गरिने भएको उहाँले जनाउनु भयो ।
प्रतियोगितामा कम्तिमा पनि ३० टिमको सहभागिता हुने आफुहरुले अपेक्षा गरेको अध्यक्ष गुरुङले जनाउनु भयो । प्रतियोगितामा विजेता हुने टिमले नगद ३ लाख, उपविजेता हुनेले २ लाख र तेश्रो हुनेले १ लाख र शानत्वना हुनेले पचास हजारको साथमा शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन्। पालिकाले टिम दर्ता शुल्क भने ७ हजार ५ सय लिने भएको छ ।
खेल अभियान, पर्यटन र संस्कृतिको पहिचान भन्ने मुल नाराका साथ गाउँपालिकाले आफ्नो स्थापना भएको आठौं बर्षगांठमा भलिवल सहित विभिन्न कार्यक्रम गरी मनाउने भएको अध्यक्ष गुरुङले जनाउनु भयो । खेलको माध्यमबाट यस क्षेत्रको पर्यटन तथा सँस्कृतिलाई प्रबर्द्धन गर्ने गरी खेलका लागि अन्य पालिकाहरुबाट आउनु भएका खेलाडीहरुमाध्यमबाट यस पालिकाको पर्यटकिय र धार्मिक क्षेत्रहरुको प्रचार– प्रसार साथै सँस्कृतिको आदान–प्रदान गर्ने हेतुले यस प्रतियोगिता गर्न लागिएको अध्यक्ष गुरुङको भनाई थियो ।
उक्त प्रतियोगिताले खेलाडी उत्पादनमा थप मद्धत पुग्ने पालीकाले विश्वास लिएको छ । फागुन २७ गते पालिकाको स्थापना दिवस भएकोले सो दिनमा स्थानीय सार्वजनिक बिदा सहित १२ वटै वडालाई आफ्नो वडाको भेषभुषा सहितको झाकी प्रर्दशनी गर्न आव्हान गरिएको अध्यक्ष गुरुङले बताउनु भयो । पर्यटकिय तथा साँस्कृतिक हिसाबले महत्वपूर्ण क्षेत्रको रुपमा रहेको मादी गाँउपालिका नेपालको सबैभन्दा कम उचाईमा रहेको कपुचे हिमताल तथा नेपालकै मध्य विन्दु कोरी क्षेत्र यही गाउँपालिका रहेको छ ।
उक्क्त अवसरमा पालिकाले गाउँका ज्येष्ठ नागरिक, उत्कृष्ट किसान, शिक्षक, कर्मचारी, बिद्यालय लगायतलाई सम्मान गर्ने भएको प्रमुख प्रशासकिय अधिकृत कमल प्रसाद गौतमले बताउनु भयो । पोखराबाट करिब १६ किलोमिटरको दुरीमा पर्न पालिकाको कार्यालयसम्म हाल ६ किलोमिटर सडकको स्तरोउन्नती हुने तयारीमा रहेको पालिकाले जनाएको छ ।