
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा शनिबार पोखरामा हुने १८ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा अमेरीका सहित १४ देशका धावकहरु सहभागि हुने भएका छन्। पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपाल बाहेक १३ राष्ट्रका धावकले सहभागिता जनाउने भएको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको र सहभागि धावकहरुका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले जनाएको छ । प्रतियोगिताको म्याराथनतर्फ १ सय ८ जनाको सहभागिता रहेको छ । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र पाँच किमिमा ९९०, छात्रामा ४८६को जनाको सहभागिता रहेको छ । प्रतियोगितामा कुल ३१ विदेशी धावक रहेको जानकारी दिएको छ ।

जस अनुसार म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा ५, १० किमी पुरुतर्फ ११ र महिला तर्फ ३ जना विदेशीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याण्ड, साउदी अरेबिया, ताइवान, युके र अमेरीकाका धावकहरुको सहभागिता रहनेछ । पोल्याण्ड बाहेक सबै राष्ट्रबाट मुख्य इभेन्ट म्याराथनमा सहभागिता रहेको छ ।

म्याराथनको विजेताले नगद ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वना हुनेले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै गण्डकी प्रदेश तर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वना हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्नेछन भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र–छात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले सात हजार रुपैयाँ पाउनेछन् । पाँच किमी भेट्रान महिला पुरुष दुवैतर्फको विजेताले १५ हजार, दोस्रो १० र तेस्रोले सात हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष हरि प्रसाद पराजुलीले सुरक्षाको दृष्टिकोणले गर्दा रुट परिवर्तन गरेको जानकारी दिए । उनका अनुसार पछिल्लो समय पोखरा म्याराथनलाई साथ दिनेहरुको संख्यामा वृद्धि भइरहेको छ । पोखरा म्याराथनलाई साथ दिन स्वस्फुर्तरुपमा सहयोगिहरु आइरहेको उनले बताए ।
रुट परिवर्तन
पोखरा म्याराथनको यसपटक रुटमा समेत परिवर्तन गरिएको छ । यस अघिका संस्करणहरुमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गरिएको हो । अबको नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमि र बाकीँको दौड फेवातालको सिरानतर्फ जानेछ । यस पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित हल्लनचोकको क्यापिङ साइटमा हुनेछ । यस्तै प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि चिप्सको प्रयोग गरिने भएको छ । यस अघि म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिनेछ । जसले धावकको समय निर्धारण गर्नेछ ।
म्याराथनलाई मुख्य प्रायोजन लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रा।लिको सफल दुधले गरेको छ । यस्तै गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिका, पोखरेली मञ्च युके, नेपाली समाज अस्टे«लिया तमुधी युके, गैर आवासिय नेपाली संघ, ब्रिटिश कलेज, वि विल राइज फाउन्डेसन, रोटरी क्लब ३२९२, डायमण्ड बुद्धिस्ट सेन्टर युके, तमु समाज युके, बगर भाइखलक युके, कृषि विकास बैंक लि।, लगायतको प्रायोजन रहेको छ भने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवर्द्र्धन गर्नेछ ।
सम्पन्न पत्रकार सम्मेलनमा खेलकुद मार्फत पोखराको प्रवर्द्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्वपूर्ण भुमिका निर्वाह गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख नविन पोखरेलले बताए । उनले भने–“हामी संग मार्केटिङको एक रणनिती हुन्छ हामी त्यही अनुसार काम गछौं । हाम्रो सोच पनि विदेशका भएका नेपाली मार्फत देशको पर्यटन प्रवर्द्धन गर्नका लागि सन्देश दिने हो । तर त्यो काम आज पोखरा म्याराथनले गरेको छ ।”
सो अवसरमा पोखरेली मञ्च यूकेका अध्यक्ष करम गुरुङ, च्यारिटी रनर मञ्जु गुरुङ राई, मञ्चका निवर्तमान अध्यक्ष तेज गुरुङ, मञ्चका महासचिब कृष्ण तिमिल्सिनालगायतले बोलेका थिए । कार्यक्रममा अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरुङले गैर आवाशिय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीलाई हस्तान्तरण गरे । त्यस्तै पोखरेली मञ्च युकेले गैर आवाशिय नेपाली संघ, तमु धिं यूके, बगर भाई खलक यूकेबाट संकलित रकम करिव १९ लाख २४ हजार २ सय ४० मञ्चका अध्यक्ष करम गुरुङले हस्तान्तरण गरे भने बगर भाइ खलक यूकेका अध्यक्ष दिलरास गुरुङले आफ्नो तर्फबाट नगद ५० हजार हस्तान्तरण गरे ।

कार्यक्रममा हालै खेलकुद पत्रकार मञ्चबाट स्पेसियल अवार्डबाट सम्मानित हुने मञ्चका आजिवन सदस्य एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई मञ्चका अध्यक्ष पराजुलीले बधाई दिएका थिए । कार्यक्रममा पहिलो पटक पोखरा म्याराथनको गितका रचयिता आरजु विष्ट सल्यानी र यूवा गायक बिनोद बानियालाई सम्मान गरिएको थियो ।



