गण्डकी प्रदेश बक्सिङ संघ तदर्थ समितिको संयोजकमा विद्या प्रसाद मर्सानी र सह–संयोजकमा खगेन्द्र क्षेत्री सर्वसम्मत चयन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा सम्पन्न भेलाले अध्यक्षमा मर्सानी र सहसंयोजमा क्षेत्री सहित ९ सदस्यि तदर्थ समिति निर्विरोध चयन गरेको हो ।
संयोजकमा चयन भएका मर्सानी बक्सिङका पूर्व मुख्य प्रशिक्षक समेत हुन् । उनी राखेप अन्तर्गत तत्कालिन पश्चिमाञ्चाल क्षेत्रिय खेलकुदमा प्रशिक्षण विभाग प्रमुख समेत रहेका थिए । सह–सयोजक क्षेत्री परिषदका सदस्य हुन् भने उनी विभिन्न खेलकुदमा योगदान दिएका जुझारु युवा हुन् । समितिको सदस्यमा शनी केसी, मिन बहादुर भण्डारी, पहल सिंह थापा, पुजन शाक्य, ऋषीसरा थापा, सुविन गुरुङ र दल बहादुर राना निर्विरोध चयन भए ।
यस अघि भेलालाई सम्वोधन गर्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले खेलकुदको विकासका लागि परिषदले विभिन्न योजनाहरु अघि सारेको जनाउँदै अनुशासनलाई प्राथमिकतामा राखेको बताए । उनले भने–“हामीले आचरण र व्यवहारलाई मुख्य रुपमा लिएका छौं । खेलकुदको अनुशासित मार्गदर्शन रहेर कार्य गर्न म सबैलाई आग्रह गर्छु ।” उनले परिषदले प्रशिक्षक, रेफ्रि, तथा खेलाडीहरुको आकस्मिक विमा गर्ने लगायतका कार्यहरु तत्कालै गर्न लागेको जानकारी गराउँदै बागमती प्रदेशस्तरीय प्रतियोगिताको समेत तयारीमा जुट्न उनले आग्रह गरे ।
सो अवसरमा बक्सिङका अन्तर्राष्ट्रिय खेलाडी एवं पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले सर्वसम्मत रुपमा बक्सिङको समिती गठन हुन सबैका लागि उदाहरणिय कार्य रहेको जनाउँदै ११ वटै जिल्लामा बक्सिङ खेलको विकास गर्न र अन्तर जिल्ला प्रतिस्पर्धा आवश्यक रहने कुरामा जोड दिए । नेपाल बक्सिङ संघका सदस्य राजेन्द्र पाहारीले नवगठित कार्यसमिति गण्डकी प्रदेशमा बक्सिङ खेलको विकासमा योजना सहित अघि बढ्नेमा आफू विश्वस्त रहेको जनाउँदै त्यसका लागि आफ्नो सहयोग रहिरहने बताए ।
प्रदेश खेलकुद विकास ऐन २०७७ र प्रदेश खेलकुद विकास नियमावली २०७८ अनुसार गठन भएको प्रदेश बक्सिङ संघलाई गति दिने गरी योजनाहरु निर्माण गर्ने प्रतिवद्धता नवगठित समितिका अध्यक्ष मर्सानीले प्रतिवद्धता व्यक्त गरेका छन् ।